खैरहनीमा शिक्षा क्षेत्रको बजेट बृद्धि गरिन्छ:नगर प्रमुख खनियाँ
चितवन , १४ मंसिर । खैरहनी नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर बजेट बृद्धि गर्ने भएको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले शिक्षा देशको मेरुदण्ड भएकाले शिक्षालाई उच्च प्राथमिकता दिएर बजेट बृद्धि गर्ने बताएका छन् । कंकाली मावि र खैरहनी माविमा आज भएको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले आगामी बर्ष शिक्षा क्षेत्रमा यसबर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गर्ने बताए ।
नगरपालिकाले अहिले एसइई परिक्षालाई लक्षित गर्दै नगरभित्रको ६ वटा विद्यालयमा निशुल्क रुपमा अतिरिक्त कक्षा संचालन गर्ने तयारी अनुरुप विद्यार्थी, अभिभावक र शिक्षकहरुसँग सल्लाह सुझाव लिने काम गरिरहेको र मंसिरभित्रै उक्त कक्षाहरु संचालन गरिने नगर प्रमुख खनियाँले बताए । पहिलो चरणमा अहिले एसइईलाई केन्द्रित गरिएको र अब क्रमैसँगै अन्य कक्षाका गरिव तथा विपन्न विद्यार्थीहरुको लागि सिक्स टु सिक्स अभियान संचालन गर्ने तयारी गरिएको नगर प्रमुख खनियाँले बताए । सिक्स टु सिक्स अभियानमा बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म विद्यार्थीहरु विद्यालय तथा स्वयम्सेवक शिक्षकहरुको निगरानीमा रहने व्यवस्था गरिने जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नमा अभिभावकको पनि ठूलो भूमिका रहेको भन्दै विशेष ध्यान दिएर समय छुट्याउनुपर्नेमा जोड दिइन् । बालबच्चालाई घरमा पढ्ने वातावरण सिर्जना गर्ने कर्तव्य अभिभावकको हुने भन्दै त्यसतर्फ सबै अभिभावक जिम्मेवार बन्नुपर्ने बताइन् । उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई निजी विद्यालयको जस्तै सेवासुविधा हुदाँहुदै पनि निजी विद्यालयको सरह नतिजा नआउने गरेको भन्दै शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुको पनि ठूलो भूमिका रहेको औल्याइन् ।
कार्यक्रममा बोल्ने विद्यार्थीहरुले आर्थिक अवस्था कमजोर भएका कारण अतिरिक्त पुस्तक खरिद गर्न कठिन रहेको भन्दै विद्यालयको लाइबेरीमा प्रयाप्त पुस्तकको व्यवस्था गराएर विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए । शिक्षकहरुले आफूहरु जुनसुकै समयमा समेत अध्यापन गराउन तयार रहेको भन्दै शिक्षक शिक्षिकाको परिश्रमको उचित मूल्यांकन हुनुपर्ने धारणा राखेका थिए ।