राप्ती १० मा वृहत निःशुल्क स्वास्थ्य शिविर तथा विद्यार्थीहरुलाई स्टेशनरी वितरण
चितवन , ५ चैत । पूर्वी चितवनको राप्ती १० मा आज वृहत निःशुल्क स्वास्थ्य शिविर भएको छ । ग्रीन सोसाइटी नेपाल र राप्ती नगरपालिकाको आयोजनामा शिविर भएको थियो । जर्मनी नागरिक हार्टमुट ड्रामस्टाड र जर्मनका नागरिकहरुको विशेष सहयोगमा भएको शिविरमा १ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
कोराक स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा हाडजोर्नी , आखाँ, दन्त र फिजिसियन सेवा दिइएको ग्रीन सोसाइटी नेपालका श्रीलाल परियारले जानकारी दिए । शिविरमा परिक्षण गराएकाहरुलाई निशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरमा आखाँ परिक्षण गराएकाहरुमध्य १६ जनाको जलविन्दु र मोतियाविन्दुको समस्या देखिएको र उनीहरुको आखाँको शल्यक्रिया गराउनुपर्ने भएकाले र उनीहरुको निशुल्क शल्यक्रिया गराइने परियारले बताए । शिविरमा भक्तपुर इन्टरनेशनल हस्पिटल , भरतपुर आखाँ अस्पताल र फ्रेस डेन्टल क्लिनिकबाट प्राविधिक सहयोग भएको थियो । कार्यक्रममा बोल्दै जर्मन नागरिक हार्टमुट ड्रामस्टाडले सन् २०१४ देखी आफू नेपालमा विभिन्न कार्यक्रम लिएर आउन सुरु गरेको बताए । उनले यस्तो विकट क्षेत्रमा आएर शिविर गर्न पाउदाँ अत्यन्तै खुसी भएको बताए ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले राप्तीको विकट मानिने वडा नम्बर १० र १२ का नागरिकलाई लक्षित गरेर नगरपालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गरेर स्वास्थ्य शिविर गरेको बताए । उनले सबै मिलेर पहाडी क्षेत्रको विकासमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै समाजसेवी शेर बहादुर परियारको पहलमा ग्रिन सोसाइटी नेपाल र जर्मनी नागरिक हार्टमुट ड्रामस्टाड तथा जर्मनका नागरिकहरुको विशेष सहयोगमा आज श्री राष्ट्रिय आधारभुत विद्यालय चारकिल्लाका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई करिब ६ महिनालाई पुग्ने गरि कपि , कलम , पेन्सिल , इलेजर लगायतको स्टेशनरी वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शमशेर लामाले शिक्षाको क्षेत्रमा विकास गर्न आफूहरु लागि परिरहेको बताए । उनले राष्ट्रिय आधारभुत विद्यालय चारकिल्लामा आवासिय सेवा दिएर विद्यार्थीहरुलाई सहज बनाउन विभिन्न संघसंस्थासँग समेत सहकार्यको तयारी भएको बताए ।
स्वास्थ्य शिविर तथा स्टेशनरी वितरण कार्यक्रममा राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामा , वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर तमाङ , वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजा, वडा नम्बर १० का निर्वतमान अध्यक्ष अम्मर बहादुर तमाङ लगायतको उपस्थिति रहेको थियो ।