खैरहनी ८ का वृद्धवृद्धालाई सम्मान,खाना र छाना नभए नगरले सहयोग गर्छःनगर प्रमुख खनियाँ
चितवन । खैरहनी नगरपालिका वडा नम्बर ८ को कार्यालयले वडाभरिका वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । ८ नम्बर वडाका स्थाई वासोवास गर्ने ८० बर्षमाथीका वृद्धवृद्धाहरु र पूर्ण तथा अति अशक्त अपाङ्गताको कार्ड पाएकाहरुलाई सोमबार सम्मान गरेको हो ।
सम्मानसँगै उनीहरुलाई पौष्टिक आहारको रुपमा खैरहनीमै उत्पादित मह समेत प्रदान गरिएको खैरहनी ८ का वडा अध्यक्ष शंकर कंडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले दोसल्ला ओडाएर मह प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले जनप्रतिनिधिहरु समेत तपाईहरुकै छोराछोरी भएको भन्दै बुवाआमालाई खाना, लगाउन समस्या र घर नभएको अवस्था भए नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । घरमा केहि नभएर खाना समस्या भए नगरपालिकामा सम्पर्क गर्न उनले आग्रह गरे । वृद्धबृद्धाको स्वास्थ्य परिक्षणको लागि नगरपालिकाले बाआमा स्वास्थ्य कार्यक्रम लागु गरेको उनले बताए । अब ६८ बर्षमाथीका वृद्धवृद्धाको स्वास्थ्य परिक्षणको लागि घर घरमा स्वास्थ्यकर्मी आउने नगर प्रमुख खनियाँले बताए ।
खैरहनी ८ मा ८० बर्षमाथीका ७७ जना वृद्धवृद्धा रहेको तथ्यांक रहेकोम कार्यक्रममा ४९ जनामात्रै उपस्थित भएका थिए । अशक्तताको कारण कार्यक्रममा आउन नसकेकाहरुलाई घर घरमै पुगेर सम्मान तथा पौष्टिक आहार प्रदान गरिने वडा अध्यक्ष कंडेलले बताए ।