खैरहनीमा उद्योग व्यवसाय दर्ता तथा नविकरणको लागि घरदैलो
चितवन , १६ चैत । खैरहनी नगरपालिकाले नगरभित्र रहेको उद्योग व्यवसाय दर्ता तथा नविकरणको लागि घरदैलो अभियान सुरु गरेको छ । नगरभित्र संचालनमा रहेको केहि उद्योग तथा व्यवसाय नगरपालिकामा दर्ता नभएको र अधिकाम्स दर्ता भएकाले समेत समयमै नविकरण नगरेकोले घरदैलो अभियान नै संचालन गरिएको प्रशासकिय अधिकृत नविनराज रुवालीले जानकारी दिए । नगरपालिकामा हालसम्म ५ हजार ५ सय ८४ वटा उद्योग व्यवसाय दर्ता भएकोमा यस आवको फागुन अन्तिमसम्म जम्मा १ हजार ६ सय ३६ वटाले मात्रै नविकरण गरेको रुवालीले बताए ।
नयाँ उद्योग व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन र पुरानोलाई नविकरण गराउन नगरपालिकाले घरदैलो सुरु गरेको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले बताए । अभियानको माध्यमबाट दर्ता प्रक्रिया भन्दा बाहिर रहेकाहरुलाई करको दायरामा ल्याउन र भावी निति कार्यक्रम बनाउनको लागि तथ्यांक समेत प्राप्त गर्न सकिने उनले बताए ।
अभियानको पहिलो दिन आज खैरहनी नगरपालिका वडा नम्बर ४ मा रहेका विभिन्न उद्योगहरुमा निरिक्षण गरिएको खैरहनी नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए । दर्ता नभएका उद्योग व्यवसायलाई राजश्व लिएर अन्य प्रक्रिया पुरा गर्न लागइने र नविकरण नगरेकाहरुलाई भने सोहि स्थानमै राजस्व लिएर नविकरण गर्ने व्यवस्था मिलाइएको पौडेलले बताए ।