रामपुर क्याम्पसमा नेविसंघले आगजनी गरेको आशंका
चितवन , १८ चैत । खैरहनी स्थित रामपुर क्याम्पसमा आज भएको आगजनी तथा तोडफोडमा नेविसंघका विद्यार्थीहरु संलग्न रहेको आशंका गरिएको छ । शुक्रबार क्याम्पसमा भएको स्ववियू निर्वाचनको नेविसंघले विरोध गर्दै आएको छ । क्याम्पस प्रशासनले स्ववियू निर्वाचनमा नेविसंघलाई बाहिर राखेर एकलौटी रुपमा निर्वाचन गराएको र प्रहरी लगाएर इकाई सभापति आशिष देवकोटा र पुर्व इकाई सभापति सुरज यादवमाथी कुटपिट गराएको भन्दै नेविसंघले निर्वाचन बदरको माग गर्दै आएको छ । निर्वाचनको भोलीपल्टै क्याम्पसमा आगजनी हुदाँ उक्त घटनामा नेविसंघका विद्यार्थीहरु संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।
नेविसंघ चितवनका नेता वसन्त गैरेले सामाजिक संजालमा आगो लाग्दै गर्दाको भिडियो हालेर नेविसंघ चितवन जिन्दावाद लेखेका छन् । नेविसंघ चितवनका जिल्ला सभापति राजेश भुषालले त्यसबिषयमा आफूलाई कुनै जानकारी नआएको बताए । यदि कोहि साथीहरुले त्यसो गरेको भएपनि त्यो घटना हुनुमा क्याम्पस प्रशासननै जिम्मेवार हुने उनले बताए । स्ववियू निर्वाचनमा नेविसंघलाई बाहिर राख्ने , प्रहरी लगाएर नेविसंघका विद्यार्थी कुटाउदा कोहि विद्यार्थीहरु आक्रोशित भएर केहि घटना भए त्यसको पूर्ण जिम्मेवार क्याम्पस प्रशासन हुन्छ भुषालले भने ।
क्याम्पसमा भएको आगजनी तथा तोडफोडको घटनाको छानविन गरि दोषी उपर कारबाही गर्न क्याम्पस प्रशासनले आज प्रहरीमा निवेदन दिएको छ । प्रहरीले सिसि क्यामरा फुटेजको आधारमा अनुसन्धान अगाडी बढाएको र घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।