एशियन लाईफद्वारा विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
चितवन , २१ चैत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिडेटले विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गरेको छ । कम्पनीले आफ्नो १५ औ वार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित राष्ट्रिय आधारभुत विद्यालय मगनीमा अध्ययनरत १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई आज झोला तथा स्टेशनरी वितरण गरिएको कम्पनीको पर्सा शाखाका प्रबन्धक आनन्द पौडेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी ८ का वडा अध्यक्ष शंकर कंडेलले विभिन्न कम्पनी तथा संघ संस्थाले सामाजिक उत्तरदायित्व क्षेत्रमा योगदान गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले उनीहरुको शिक्षाको लागि सहयोग गर्नु अत्यन्तै राम्रो काम भएको उनले बताए । कंडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि वडा कार्यालयबाट हुनसक्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
एशियन लाईफ इन्स्योरेन्सको नारायणगढ शाखाका प्रमुख डिल्लीराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मनकुमारी अधिकारी , प्रधानाध्यापक प्रेमराज भुर्तेल लगायतले मन्तव्य राखेका थिए । उनीहरुले सामुदायिक विद्यालयमा निम्न बर्गका विद्यार्थी पढ्ने गरेको भन्ने समाजमा छाप रहेकोले त्यसलाई मेटाउन सबै लाग्नुपर्नेमा जोड दिए । विद्यालयको शैक्षिक गुणस्तर सुुधारको लागि निजी स्रोतमा समेत शिक्षकहरु राखिएकोले सबैको सहयोग आवश्यक रहेको बताए ।