महिलाहरुको लागि खैरहनीमा पत्रकारिता तालिम
चितवन , २१ चैत । खैरहनीमा महिलाहरुको लागि पत्रकारिता तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा आजबाट आधारभुत पत्रकारिता तालिम सुरु भएको हो ।
तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमख खनियाँले महिलाहरुको सशक्तिकरणमा पत्रकारिता तालिमले टेवा पुग्ने बताए । उनले तालिम पश्चात् व्यवसायिक पत्रकारितामा महिलाहरुलाई देख्न पाइने विश्वास व्यक्त गरे । स्वच्छ पत्रकारिता मार्फत समाज परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका हुने नगर प्रमुख खनियाँले बताए । कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले आत्मनिर्भर हुन र जिविकोपार्जन गर्न सक्ने गरि तालिम लिएर व्यवसायिक पत्रकार बन्नुपर्नेमा जोड दिइन् । उनले तालिमको लागि तालिम नभएर जिवनमा केहि परिवर्तन आउने गरि तालिममा सिकेको ज्ञान र सिपलाई लागू गर्नुपर्ने बताइन् ।
सातदिनसम्म चल्ने तालिममा प्रशक्षिकहरु दिपेन्द्र अधिकारी , मधुसुधन दवाडी , प्रतिमा सिलवाल, प्रमिता ढकाल लगायतका पत्रकारहरुले प्रशिक्षण दिने महिला तथा बालवालिका शाखाकी प्रमुख कृष्णा कुमारी गुरुङ्गले जानकारी दिइन् । तालिममा २५ जना महिलाहरुको सहभागिता रहने गुरुङ्गले बताइन् । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा , नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।