खैरहनीवासीलाई सहजता ,अब वडामै सम्पत्ति कर तिर्न सकिने
चितवन , ३ बैशाख । खैरहनी नगरवासीलाई वडाबाट सेवा लिन सहजता हुने भएको छ । खैरहनी नगरपालिकाको सबै वडामा अब एकिकृत सम्पत्ति कर तिर्न सक्ने व्यवस्था सुरु भएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , उप प्रुमख कविता उपे्रतीले आज खैरहनी नगरपालिका वडा नम्बर १ बाट उक्त सेवाको उद्घाटन गरेका हुन् ।
यसअघि एकिकृत सम्पत्ति कर ,विभिन्न किसिमको अंग्रेजी सिफारिसहरु लगायतको कामको लागि वडाबाट सिफारिस लिएर नगरपालिका जानुपर्ने बाध्यता रहेको थियो । प्राविधिक समस्या र जनशक्ति कमिको कारण यसअघि नै वडाबाट सेवा दिने सोच भएतापनि दिन नसकिएको र अहिले कर्मचारी थप गरेर उक्त सेवाहरु वडाबाटै दिन सुरु गरिएको नगर प्रमुख शशि कुमार खनियाँले बताए । वडाबाटै सम्पत्ति कर , अंग्रेजी सिफारिसको काम सुरु भएपछि सेवाग्राहीलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।
वडाबाट प्रदान हुने जुनसुकै सेवा लिन वार्षिक रुपमा एकिकृत सम्पत्ति कर तिर्न नगरपालिका जानुपर्ने बाध्यताको अन्त्य भएको खैरहनीका प्रमुख प्रशासकिय अधिकृत पु्रुषोत्तम शर्माले बताए । नगरपालिकामा भएका एकिकृत सम्पत्तिको सम्पूर्ण फाइलहरु सम्बन्धित वडा कार्यालयहरुमा पठाइएको छ । वैदेशिक प्रयोजनको लागि बनाइने सम्पुर्ण कागजातहरु वडामै बन्ने तर पुनःप्रमाणिकरण आवश्यक हुने कागजातको लागि एक पटक नगरपालिका पुग्नपर्छ शर्माले भने ।