चितवन बन्दको आशिंक प्रभाव, एउटा ट्याङ्कर तोडफोड चालक घाइते
चितवन , २३ बैशाख । व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा मुख्य आरोपिलाई पक्राउको माग गर्दै भएको चितवन बन्द बेलुका खुलेको छ । शंकर कंडेल न्यायिक संघर्ष समितिको आयोजनामा भएको चितवन बन्दमा भरतपुर क्षेत्रमा यातायात सेवा प्रभावित भएको थियो । बन्दको क्रममा भरतपुरमा एउटा ट्याङ्कर तोडफोड भएको छ ।पुर्वबाट पश्चिमतर्फ जादैं गरेको ना ३ ख ४७३७ नम्बरको ट्याङ्करमा ईट्टा र ढुगां प्रहार भएको थियो । तोडफोडबाट ट्याङ्करको सिसा फुटेको छ भने चालक समेत घाइते भएका छन् । चालकको छाती र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
बन्दको क्रममा प्रहरीले ६ जनालाई बिहान नियन्त्रणमा लिएर दिउँसो छोडेको छ । यातायात सहज रुपमा संचालन हुन नसक्दा आज चितवनको जनजिवन प्रभावित भएको छ । बाहिरी जिल्लाबाट आएका सवारीसाधनलाई प्रहरीले बैकल्पिक बाटो हुदैं पठाएको थियो । बिहान जिल्लाको विभिन्न स्थानमा सडकमै आएर बन्द गराएका बन्दकर्ताहरुलाई प्रहरीले तितरवितर पारेर सडक सूचारु गराएको थियो । आन्दोलनरत टोली दिउँसो बसपार्क चोकमा एकिकृत भएर पुनःसडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक अपरान्हबाट खुलेको प्रहरीले जनाएको छ ।