खैरहनीमा व्यवसायिक बंगुरपालन तालिम
चितवन , ५ जेठ । खैरहनीमा व्यवसायिक बंगुर पालन गर्न चाहनेहरुलाई प्राविधिक सिप विकास तालिम दिइएको छ । गरिवी निवारणका लागि अघु उद्यम कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक बंगुरपालन प्राविधिक सिप विकास तालिम आज सकिएको हो । खैरहनी नगरपालिकाले आयोजना गरेको तालिममा २६ जना सहभागी भएका थिए ।
खैरहनी नगरपालिका वडा नम्बर ४ को लाफा टोलमा तिनदिनसम्म संचालन भएको तालिममा खैरहनी नगरपालिकाका पशु चिकित्सक तथा प्राविधकहरुले प्रशिक्षण दिए । तालिममा बंगुरपालनको फाइदा , बंगुरको जातहरु , बंगुरको खोर बनाउने तरिका , बंगुर पाल्ने तरिका , ब्याउने माउको हेरचाह सम्बन्धि , बंगुरको पाठापाठीको स्याहार र हुर्काउने तरिका , बंगुरमा लाग्ने विभिन्न रोग तथा त्यसको नियन्त्रण र रोकथामको उपाय , बंगुरको पाठा खसी पार्ने , दात काट्ने सम्बन्धि व्यवहारिक अभ्यास , बंगुरपालनको समस्या , चुनौती लगायतको बिषयमा प्रशिक्षण दिइएको उद्यम विकास शाखाकी बरिष्ठ सहजकर्ता शान्ति दहालले जानकारी दिइन् । तालिममा खैरहनीका पशु विकास शाखाका प्रमुख रुद्र कुमार श्रेष्ठ , डा.निशान अर्याल , डा.टेक बहादुर ओली , निर्चना चापागाई र मुकेश यादवले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरुलाई आज खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँ , वडा नम्बर ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारी , वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुषाल लगायतले सहभागीहरुलाई प्रमाणपत्र र औषधी वितरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगरपालिकाले तालिम मात्रै दिएर त्यत्तिकै नछाड्ने भन्दै आवश्यकता अनुसार अनुदान दिएर व्यवसायिक बंगुरपालनमा प्रोत्साहन गर्ने बताए । उनले खैरहनीको चैनपुर क्षेत्रमा बंगुरपालनको सम्भावना रहेकोले बंगुरपालनको लागि विशेष क्षेत्रकै रुपमा विकास गर्न सकिने बताए । उनले सामान्य रुपमा नभई व्यवसायिक रुपमा जिविकोपार्जन हुने तवरले बंगुरपालनमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै खैरहनी ४ का वडा अध्यक्ष बेद बहादुर अधिकारीले बंगुरपालनलाई व्यवसायिक रुपमा अगाडी बढाएर त्यसको प्रचारप्रसार गर्दै बजार विस्तारमा लाग्नुपर्नेमा जोड दिए । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्नुपर्ने भन्दै वडा र नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।