कठारमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
चितवन , २२ जेठ । खैरहनीको कठारमा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १० को आयोजनामा खगेन्द्रमल्ली उपभोक्ता समितिको सभाहलमा भएको कार्यक्रममा खैरहनी १० का महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक भानु खड्का , खैरहनी नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख कृष्णा कुमारी गुरुङले महिला हिंसासम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा घर , गाँउ , टोलमा हुने महिला हिंसा , त्यसको न्यूनिकरणको लागि अपनाउन सकने उपाय , हिंसा भए लिन सकिने कानुनी उपचार, दण्ड सजाय लगायतको बिषयमा प्रशिक्षण दिइएको खैरहनी १० का वडा अध्यक्ष चन्द्र विक्रम चौधरीले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले समाजमा अहिलेपनि महिला र पुरुषबिच भेदभाव रहेको भन्दै त्यो अन्त्य गर्न सबै लाग्नुपर्ने बताइन् । लैङ्गिक हिंसा भन्नसाथ शारिरिक हिंसामात्रै सोच्ने परिपाटी रहेको भन्दै उप प्रमुख उप्रेतीले लैङ्गिक आधारमा हुने मानसिक , सामाजिक सांस्कृतिक , यौन , आर्थिक हिंसा लगायतसबै लैङ्गिक हिंसा भएको बताइन् ।