राप्तीमा नगर प्रमुखको मनोमानी, कार्यपालिका बैठकको निर्णय नै आफूखुसी फेरबदल
चितवन , २० असार । चितवनको राप्ती नगरपालिकामा एकपछि अर्को विवाद र बेथिति सार्वजनिक हुदैं आएको छ । पटक पटक विवादमा आएको राप्ती नगरपालिकामा मनपरि रुपमा कार्यपालिकाको बैठकको निर्णय नै फेरबदल हुने गरेको पाइएको छ । कार्यपालिका बैठकमा छलफल भएर निर्णय भएको बिषय पछि मेयरले फेर्ने गरेको तथ्यबाहिर आएको छ ।
राप्ती नगरपालिकाको २०७९ भदौं २३ गते बसेको सातौं कार्यपालिका बैठकको निर्णय पुस्तिकामा दुईथरि निर्णय भएको पाइएको छ । छलफल गरेर निर्णयगर्दा एउटा निर्णय गरेको तर पछि उक्त निर्णयको बिषय केहि हटाएर पुनःअर्को निर्णय टासिएको फेला परेको छ । समावेशी खबरलाई प्राप्त उक्त कागजातमा निर्णय प्रमाणित स्वरुप राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालको हस्ताक्षर रहेको छ । सातौं कार्यपालिकाले बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । त्यसमध्य निर्णय नम्बर ९ मा आफूखुसी परिवर्तन गरिएको तथ्य पाइएको छ ।
निर्णय नम्बर ९ मा नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी र विभिन्न ७ वटा समितिहरु गठन गरिएको निर्णय रहेको छ । जनजाती हक अधिकार संरक्षण समन्वय समिति , महिला समन्वय समिति , दलित समन्वय समिति, एम्बुलेन्स व्यवस्थापन समिति, मेसिन संचालक समिति, फोहोरमैला व्यवस्थापन समिति र पर्यटन समिति गठनको निर्णय भएको थियो ।
तर उक्त समितिहरु गठनको निर्णयहरु पछि हटाएर अन्य निर्णय मात्रै कार्यालयको आधिकारिक वेवसाइटमा राखिएको छ ।
कार्यपालिका बैठकले महिला समन्वय समितिको संयोजकमा गोमा देवी धरेललाई चयन गर्ने निर्णय भए अनुरुप माइनुटमा लेखिएको थियो । तर उक्त निर्णयको विपरित राप्तीका नगर प्रमुख शमशेर लामाले सुमिता डल्लाकोटीलाई महिला समन्वय समितिको संयोजक भन्दै जिम्मेवारी दिए ।
यसरी कार्यपालिकाको बैठकको निर्णय उल्टाउने र आफूखुसी नगर प्रमुखले काम गरेको भन्दै राप्तीमा अहिले विवाद चुलिएको छ । कार्यपालिकाको बैठकको निर्णय नै परिवर्तन गरेर हालिएको र निर्णय विपरित समितिको संयोजक तोकेको राप्ती ४ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केदार आचार्यले बताए । कार्यपालिका बैठकमा आफूहरुले नगर प्रमुखको मनोमानी विरुद्ध आवाज उठाउदा नगर प्रमुखले पटक पटक कार्यपालिका बैठक स्थगित गर्दै आएको आचार्यले बताए ।
कार्यपालिका बैठकको निर्णय नै फेरिएको बिषयमा राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले पहिला एउटा सहमति गरेर कार्यपालिका बैठक भएको र सोहि अनुसारको निर्णय भएको तर पछि एमाले निकटका सदस्यहरुले सहमति कार्यान्वयन नगरेकाले आफूपनि निर्णयबाट पछि हटेको तर्क गरे । बैठकमा गोमादेवी धरेललाई महिला समन्वय समितिको संयोजक बनाउने निर्णय भएको तर एमालेका कार्यपालिका सदस्यहरुले अन्य विषयमा समझदारी मान्न इन्कार गरेपछि आफूले सुमिता डल्लाकोटीलाई संयोजकको जिम्मेवारी दिएको उनले स्विकार गरेका छन् । आफू आफ्नो निर्णयबाट पछि नहट्ने नगर प्रमुख लामाले बताए ।