राप्तीका उप प्रमुख लामामाथी भएको हातपातप्रति कांग्रेसको आपत्ति
चितवन , २२ असार । राप्तीका उप प्रमुख तथा नेपाली कांग्रेस राप्ती नगर सभापति देवेन्द्र लामामाथी भएको हातपातको घटनाप्रति नेपाली कांग्रेस क्षेत्रिय समितिले आपत्ति जनाएको छ । नेपाली कांग्रेस क्षेत्रिय समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेर एमालेका वडा अध्यक्षहरुबाट भएको हातपातप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ का सभापति किरण भूषण ओलीले त्यस्ता गतिविधि दोहोरिए आफूहरु कडा कदम चाल्नबाध्य हुने चेतावनी दिए । उनले एमालेका नेतृत्वले आफ्ना कार्यपालिका सदस्यहरुलाई सकारात्मक बाटोमा हिड्न मार्गदर्शन प्रदान गर्न आग्रह गरे । राप्ती नगरपालिकाका उप प्रमुख तथा नेपाली कांग्रेस राप्ती नगरसमितिका सभापति देवेन्द्र लामामाथी पटक पटक अभद्र व्यवहार भएपछि त्यसको प्रतिकार स्वरुप आक्रोशमा लड्ने भए सिंगल सिंगल आउ भन्ने अभिव्यक्ति आएको सभापति ओलीको दावी छ ।
राप्ती २ र ४ का वडा अध्यक्षहरुले अभद्र र अपशब्द प्रयोग गरेपछि कार्यपालिका बैठकहलबाट नगर प्रमुख बाहिरिएको र त्यसपछि त्यहाँ उपस्थित कार्यपालिका सदस्यहरुसँग समन्वय गर्ने प्रयास गर्न खोज्दा उप प्रमखमाथी राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती धक्कामुक्की गर्न पुगेको भिडियोमा समेत देखिएको सभापति ओलीले बताए । कसैले अति नै अत्याचार गर्दा आक्रोशपूर्णरुपमा अभिव्यक्ति आउनुलाई अस्वभाविक मान्न नहुने भन्दै उनले हातपात गर्न अग्रसर हुनेहरुलाई त्यस्ता गतिविधि नगर्न आग्रह गरे । उनले राप्तीका जनप्रतिनिधिहरुलाई जनभावना अनुरुप काम गर्न आग्रह समेत गरेका छन् ।