भुटानी शरणार्थी प्रकरण : प्रहरीले कार्यदल संयोजक पन्थीलाई बयानका लागि बोलाउने !
काठमाडौँ । शरणार्थी समस्या समाधानका नाममा गठन गरिएको ‘विवादास्पद’ कार्यदलका संयोजक बालकृष्ण पन्थीलाई प्रहरीले बयानका लागि बोलाउने तयारी गरेको छ । प्रहरीले आइतबार पन्थीसँग सोधपुछ गरेपछि पुनः बयानका लागि बोलाउने तयारी गरेको हो । ‘उहाँलाई परिसरमै बोलाएर सोधपुछ गरिएको हो, छिट्टै बयानका लागि पनि बेलाइनेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
पन्थी स्वयंले पनि गिरोहका सदस्यसँग ‘चिसो खान’ भेडेटारमाथिको नाम्जे घुम्न गएको विभिन्न सञ्चारमाध्यमसँग स्वीकारेका छन् । पन्थीले एमाले सचिब टोपबहादुर रायमाझी, कार्यदलका सदस्य गणेश केसी, मुक्य योजनाकारहरू केशव दुलाल, सानु भण्डारीसहितको टोलीमा हिमालय होटल पुल्चोकमा डिनरमा गएको समेत सकारेका छन् । केपी शर्माओली नेतृत्वको तत्कालिन मन्त्रिपरिषद्ले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को त्यही निर्णय अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २०७६ जेठ ३० मा पन्थीको संयोजकत्वमा ३ सदस्यीय मनर्यदल बनाएका थिए ।
ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो । त्यस्तै, शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए । यस प्रकरणमा अहिलेसम्म वहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिवा रायमाझीका छोरा सन्दीप, योजनाकारहरू केशव दुलाल, सानु भण्डारीसहित ८ जना पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझी, बादलका छोरा प्रतीकलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।