खैरहनीका ७ जना कर्मचारी पुरस्कृत
चितवन , २२ भदौं । कर्मचारी दिवसको अवसरमा खैरहनी नगरपालिकामा कार्यरत ७ जना कर्मचारी पुरस्कृत भएका छन् । नगरपालिकामा आयोजित एक कार्यक्रमको बिच आज खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँ , प्रशासकिय अधिकृत दामोदर अधिकारी , सिनियर अनमी सरिता जोशी , सव इन्जिनियर कर्ण बहादुर थापा, नायव प्राविधिक सहायक यमुना सापकोटा, हलुका सवारी चालक भिष्म महतो र कार्यालय सहयोगी सुकमाया तामाङ पुरस्कृत भएका हुन् ।
पुरस्कृत भएकाहरुलाई सम्मान पत्र सहित नगद तीन तीन हजार रुपैयाँ प्रदान गरिएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद सापकोटाले जानकारी दिए । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र उप प्रमुख कविता उप्रेतीले कर्मचारीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत सापकोटाले देश बनाउन शहिदले ज्यान अर्पण गर्ने र कर्मचारी भने आफ्नो जिवन अपर्ण गर्ने बताए । धेरै पैसा कमाउने सोचले जागिरमा आउने कर्मचारी गलत भएको भन्दै कर्मचारी भनेको जनताको सेवा गर्दै आफ्नो सामान्य दैनिकी चलाउने मात्रै भएको बताए ।
खैरहनी नगरपालिकाका नगर प्रमख शशि कुमार खनियाँले जनप्रतिनिधि र कर्मचारी दुवैको कर्तव्य भनेको जनता सेवा गर्नु भएको बताए । जनताको आशालाई निराशामा परिवर्तन नहुने गरि काम गर्न उनले आग्रह गरे । जनताको अपेक्षा ठूलो हुने भएकोले काम गर्ने क्रममा कुनै समस्या आए जनप्रतिनिधिसँग समन्वय गरेर अगाडी बढ्न उनले आग्रह गरे ।