खैरहनीमा जैविक खेती प्रणालीसम्बन्धी तालिम
चितवन, २५ भदौं । खैरहनीमा जैविक खेती प्रणाली , प्रशोधन तथा भण्डारण सम्बन्धी तालिम सुरु भएको छ । एशिया मानव अधिकार तथा सांस्कृतिक मञ्जको आयोजना , वी फ्रेण्ड्सको समन्वय र हाना नानम फाउण्डेशनको अर्थिक सहयोगमा खैरहनी नगरपालिकाको वडा नम्बर १२ मा तीन दिने तालिम आजबाट सुरु भएको हो ।
तालिमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले तालिम लिएर मात्रै नहुने त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए । तालिम अवधिभर सिक्ने र पछि त्यसको प्रयोग नभए तालिमको औचित्य नहुने भन्दै नगर प्रमुखले खनियाँले आफूले सिकेको ज्ञानको प्रयोग गर्नुपर्ने र गाँउघरमा अरुलाई पनि सिकाउनुपर्ने बताए । उनले खैरहनी नगरपालिकाले विभिन्न तालिम लिएकाहरु व्यवसाय गर्ने उदेश्यले समूहगतरुपमा आए नगरपालिकाले वीउ पूँजी दिने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख खनियाँले क्रमिक रुपमा रसायनिक मल र विषादीको प्रयोग घटाएर जैविक मल र विषादीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
खैरहनी नगरपालिकाको विभिन्न सातवटा वडाबाट सहभागी भएका २१ जनालाई तीन दिन तालिम दिइने एशिया मानव अधिकार मञ्चका आर्थिक प्रशासन प्रमुख तथा कार्यक्रम संयोजक एकलाल न्यौपानेले जानकारी दिए । दुईदिन सैद्धान्तिक ज्ञान दिने र एकदिन प्रयोगात्क रुपमा तालिम दिइने न्यौपानेले जानकारी दिए । तालिम अवधिमा जैविक मल निर्माण , आधुनिक नर्सरी निर्माण , रासायनिक विषादी तथा मलको न्यूनिकरण , जैविक मल बनाउने , जैविक विषादी निर्माण ,माटोको अम्लय जाँचको विधि , वाली पात्रो तयारी , वालीमा लाग्ने रोग तथा किराको रोकथाम लगायतको विषयमा प्रशिक्षण दिइने तालिमका प्रशिक्षक शिव यन्धोले जानकारी दिए । उद्घाटन कार्यक्रममा खैरहनी १२ का वडा अध्यक्ष केदारनाथ पन्त , १३ का वडा अध्यक्ष कुल प्रसाद भुषाल , कार्यपालिका सदस्य दुखिराम दरै लगायतको उपस्थिती रहेको थियो ।