खैरहनीमा एडभान्स ब्यूटीपार्लर तालिम सुरु
चितवन , १४ असोज । खैरहनी नगरपालिकामा एडभान्स ब्यूटीपार्लर तालिम सुरु भएको छ । यसअघि नगरपालिका तथा वडाहरुमा संचालित आधारभूत ब्यूटिपार्लर तालिम लिएकाहरु मध्यबाट ३३ जना महिलाहरुलाई एडभान्स तालिम दिन सुरु गरिएको वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ति दाहालले जानकारी दिइन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७५ दिने एडभान्स तालिम सुरु गरिएको दाहालले बताईन् ।
तालिमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् । नगर प्रमुख खनियाँले नगरपालिकाले गरेको लगानी खेर नजाने गरि तालिममा सिक्न र त्यसलाई व्यवहारिक प्रयोग गर्न आग्रह गरे । तालिक लिएकाहरुमध्यबाट व्यवसायिक रुपमा काम गर्न चाहनेलाई नगरपालिकाले बिउ पुँजी दिने गरि बजेट नै राखेको बताए । आगामी दिनमा यस्ता तालिम दिने कि नदिने भन्ने परिक्षणको क्षणमा रहेको भन्दै अहिलेका तालिमहरु उपलब्धीमुलक भए मात्रै आगामी दिनमा तालिमहरुलाई निरन्तरता दिने उनले प्रष्ट पारे ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटाले तालिम लिएकाहरु रोजगारमा वा स्वरोजगार हुनुपर्नेमा जोड दिए । तालिममा भएकाहरु कतै रोजगारीमा लागे वा स्वरोजगार भएर उनीहरुले व्यवसाय गरेको देख्न पाए मात्रै तालिमले सार्थकता पाउने बताए । तालिम उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती , प्रशासकिय अधिकृत दामोदर अधिकारी , प्रशिक्षक रेश्मा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।