खैरहनीका विद्यालय आज विदा, थारु महिलाहरुलाई सार्वजनिक विदा
चितवन , २१ असोज । खैरहनी नगरपालिकाभित्रका विद्यालयहरु आज विदा दिइएको छ । थारु महिलाहरुको चाड जितियाको अवसरमा आज नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिइएको हो ।
खैरहनी नगरपालिकाको शैक्षिक क्यालेण्डरमा असोज १९ गते विदा लेखिएता पनि १९ गते पठनपाठन गराएर आज विदा दिइएको खैरहनी नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
त्यस्तै खैरहनीमा आज थारु महिलाहरुलाई सार्वजनिक विदा दिइएको छ । जितिया अन्तर्गत पारनको अवसरमा आज विदा दिइएको खैरहनीका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटाले जानकारी दिए । खैरहनी नगरपालिकाभित्रका सबै सरकारी , सार्वजनिक संघसंस्थाहरु तथा शैक्षिक संस्थामा कार्यरत थारु महिलाहरुको लागि सार्वजनिक विदा दिइएको सापकोटाले बताए ।
केहिदिन अघि मात्रै थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले आयोजना गरेको जितिया कार्यक्रममा बोल्ने वक्ताहरुले जितियाको अवसरमा विदा दिनुपर्ने भन्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँसँग माग गरेका थिए । खैरहनीका नगर प्रमुख खनियाँले थारु समुदायबाट उठान गरिएको माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।