खैरहनीमा किराना पसलहरुको अनुगमन, केहि पसलमा म्याद गुज्रेका वस्तु फेला
चितवन , २१ असोज । खैरहनी नगरपालिकाले पर्सा बजारको किराना तथा डिपार्टमेन्टल स्टोर्सहरुको अनुगमन गरेको छ । खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती नेतृत्वको टोलीले पर्सा बजारको १४ वटा पसलहरुमा आज अनुगमन गरेको हो ।
अनुगमनको क्रममा केहि किराना पसलमा म्याद गुज्रेका खाद्यवस्तु फेला पारिएको खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् । म्याद गुज्रेको खाद्यवस्तुहरु जफत गरिएको उनले बताइन् । बालबालिकाले बढी रुचाउने आलु चिप्स् ,जुस , कुरमुरे को साथै अन्य पेय पदार्थहरु म्याद गुज्रेको फेला परेको थियो । खैरहनीको थपलिया किराना एण्ड कोल्ड स्टोर्स, पौडेल किराना स्टोर्स , प्रभु किराना स्टोर्स आस्था डिर्माटमेन्ट स्टोर्स र राजकुमार किराना स्टोरमा म्याद गुज्रेका वस्तु फेला परेको थियो ।
म्याद गुज्रेका वस्तु रहेको पसलका संचालकहरुलाई सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरिक्षक बन्दना पन्तले जानकारी दिइन् । जफत गरिएको सामाग्रीहरु आजै नष्ट गरिएको छ । चाडपर्वको समयमा बजारमा बढी भिडभाड हुने र उक्त समयमा कालोबजारी , अखाद्य वस्तुको बेचविखन हुनसक्ने भएकोले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजार अनुगमन गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले बताए । म्याद गुज्रेको खाद्य वस्तु विक्री गर्ने , कालोबजारी गर्ने , खाद्य वस्तुमा मिसावट गरेको भेटिए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने नगर प्रमुख खनियाँले चेतावनी दिए ।
अनुगमनको क्रममा बजारबाट जफत गरिएको म्याद गुज्रेको सामाग्रीहरु आजै नष्ट गरिएको छ । अनुगमनमा खैरहनी नगरपालिकाकी उपप्रमुख सहित प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा, वडा नम्बर १३ का वडा अध्यक्ष कुल प्रसाद भुषाल , खैरहनी ८ का कार्यवाहक वडा अध्यक्ष श्यामकुमार पाठक , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरकी खाद्य निरिक्षक बन्दना पन्त,उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतको टोली खटिएको थियो ।