हिमालचुली पाउरोटी उद्योगमा अनुगमन,सरसफाईमा सुधार गर्न निर्देशन सहित स्पष्टिकरण माग
चितवन , १३ मंसिर । पूर्वी चितवनको खैरहनीमा रहेको ऊ श्री हिमालचुली पाउरोटी एण्ड स्पेसल बेकरी उद्योगमा खैरहनी नगरपालिकाको टोलीले अनुगमन गरेको छ । सामाजिक सञ्जालमा पाउरोटीमा अखाद्यवस्तु रहेको भिडियो सार्वजनिक भएपछि खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीसहितको टोलीले आज उद्योगमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अखाद्य वस्तु फेला नपरेको तर उद्योगको सरसफाईमा सुधार गर्नुपर्ने देखिएकोले तत्काल सुधार गर्न निर्देशन दिएको उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् । अनुगमन टोलीले उद्योगको व्यवस्थापनलाई सामाजिक सञ्जालमा आएको भिडियोको बारेमा तिन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ । मानव स्वास्थ्यमा प्रत्येक्ष प्रभाव हुने गरि लापरवाही गरेको पुष्टि भए उद्योग बन्द गर्न समेत पछि नपर्ने उप प्रमुख उप्रेतीले बताइन् । उनले उद्योगबाट उत्पादन भएका वस्तुमा अखाद्य वस्तु भेटिए उक्त वस्तुसहित नगरपालिकामा उजुरी दिन समेत आग्रह गरिन् । अनुगमनमा खैरहनी नगरपालिकाकी उप प्रमुख सहित प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कुमार खनाल ,इलाका प्रहरी कार्यालय खैरहनीको टोली लगायतको सहभागीता रहेको थियो ।
भिडियो