खैरहनी नगरपालिकाद्वारा नगर अस्पताललाई सुविधायुक्त एम्बुलेन्स हस्तान्तरण
चितवन , २८ पुष । खैरहनी नगरपालिकाले नगर अस्पताललाई सुविधायुक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा , विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थितीमा खैरहनी नगर अस्पतालका प्रमुख डा.प्रशान्त कंडेललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्समा प्राथमिक उपचारलाई आवश्यक सुविधाहरु रहेको खैरहनी नगरपालिकाकाको स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले जानकारी दिए । एम्बुलेन्समा अक्सिन सिलिन्डर रहेको र विरामीको रक्तचाप , मुटुको चालको गति (पल्स ) र रगतमा अक्सिजनको मात्रा हेर्न मोनिटर जडान गरिएको घिमिरेले बताए जडान गरिएको घिमिरेले बताए । नगरपालिकाले भन्सार छुटमा ख बर्गको एम्बुलेन्स १९ लाख ९१ हजार ४ सय ७० रुपैयाँ लागतमा खरिद गरेको थियो । निर्वाचनको मुखमा नगरपालिका आइपुगेको एम्बुलेन्समा पार्टेसन लगायतको काम सकेर आज नगर अस्पताललाई हस्तान्तरण गरिएको खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनियाले जानकारी दिए । विपन्न तथा सुत्केरी महिलाहरुलाई निशुल्क रुपमा सेवा दिने व्यवस्था मिलाइने नगरप्रमुख खनियाँले बताए ।
सुविधायुक्त एम्बुलेन्स भएकाले विरामी एम्बुलेन्समा चढ्नासाथ प्राथमिक उपचारको प्रक्रिया सुरु हुने जसको कारण समयमै प्राथमिक उपचार नपाएर कसैको मृत्युवरण हुने स्थिति नआउनेमा आफू विश्वस्त रहेको उनले बताए । एम्बुलेन्स संचालनको लागि अस्पतालले तत्कालै एम्बुलेन्स संचालक समिति गठन गरेर अगाडी बढाउने खैरहनी नगर अस्पतालका प्रमुख डा.प्रशान्त कंडेलले जानकारी दिए ।