खैरहनीको सार्वजनिक सुनुवाईःअनुदान प्रभावकारी वनाउन सुझाव,गुनासो आउन दिदैनौ– मेयर खनियाँ
चितवन , १५ मंसिरे । खैरहनी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नगरपालिकाले गर्दै आएको कार्यसम्पादन तथा विकास निर्माणको काममा बारे नगरवासीसंग खैरहनी नगरपालिकाको आयोजना तथा चितवन स्टार मिडिया प्रालिको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
खैरहनी १० वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उपस्थित नगरवासीले कृषि र पशुपालनमा प्रदान गर्दै आएको अनुदानका कार्यक्रम प्रभावकारी वनाउनु पर्ने विषयलाई प्राथमिकताका साथ उठाए । खैरहनी १० का किसान यज्ञ प्रसाद सेढाईले अनुदानका कार्यक्रम सवै विकास माझ पुग्न नसकेको वताए । समुहमा आवद्ध नभएका किसान अनुदानका कार्यक्रमबाट वञ्चित छन्,किसान सेढाईले भने – वडा ,नगरले वास्तविक किसान पहिचान गरेर अनुदान वितरण गर्नुपर्छ । सेढाईसहित अन्य किसानहरुले रासायनिक मल आवश्यकताका आधारमा वितरण गर्न सुझाव दिए ।
किसान सिताराम अर्यालले कुन क्षेत्र कुन वाली र कति आवश्यक पर्छ,त्यसको पहिचान गरेर मल,बीउ वितरण गर्नु पर्ने औल्याए । केही सहभागीले खैरहनीको सुर्तनामा निर्माण गरिएको शीत भण्डार संचालन ल्याउनका लागि रहेको अवरोध हटाउन नगरपालिका अघि वढ्नु पर्ने वताए । खैरहनी ४ का स्थानीय समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव उत्तम अधिकारीले सवै व्यवसायीलाई करको दायरामा ल्याउनु पर्ने,अलपत्र हाट वजार संचालन वा विकल्प खोज्नु पर्ने,घर नक्सा दर्तालाई कडाईका साथ लागु गर्नु पर्ने,अटोको मनोमानी भाडा नियन्त्रण गर्नु पर्ने लगायत सुझाव दिए ।
कार्यक्रममा नरहरी सापकोटा,महेश चौधरी,नवराज पन्त,टिका सडौला,कृष्ण शाह,विष्णु गिरी,शरण आचार्य,विश्वराज चौधरी,प्रसन्न वास्कोटा,विष्णु प्रसाद वास्कोटा लगायतले आआफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए ।सहभागीबाट आएको जिज्ञासालाई सम्वोधन गर्दै खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले शिक्षा,स्वास्थ्य ,कृषि,पूर्वाधारमा डेढ वर्षको अवधिमा धेरै र प्रभावकारी काम भएको वताए । केही गर्ने हुटहुटीका साथ नगरपालिकाको सिंगो टिम लागिपरेको छ, नगर प्रमुख खनियाँले भने – आफुहरु निर्वाचित भएर आएपछि नगरवासीले केही परिवर्तनको अनुभूति हुने गरि काम भएको छ । वदलिदो परिस्थिती अनुसार काम गर्नु पर्दा कहिकतै गुनासो ,समस्या हुने गरेपनि सकेसम्म गुनासोनै नआउने गरि काम गर्ने प्रमुख खनियाँले प्रतिवद्धता जनाए ।
शिक्षाको गुणस्तर वृद्धी हुने नयाँ कार्यक्रम संचालन गरिएको,नगरका महत्वपूर्ण सडकहरुलाइ अपांगमैत्री वनाउन लागिएको,जनसरोकारसंग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा सेवा वृद्धी देखी डाक्टर दरवन्दी वढाउने लगायत काम भएको उनको भनाई थियो । कृषि र पशुपालन क्षेत्रमा नगरपालिकाले अनुदानलाई प्रभावकारी वनाउने प्रयास गरेको उल्लेख गर्दै प्रमुख खनियाँले कहिकतै गल्ती गरेको भएर कारवाहीको भागेदार वन्न तयार रहेको वताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाले प्रथम चौमासिक अवधिमा गरेका कार्यसम्पादन,शिक्षा,स्वास्थ्य,पूर्वाधार,कृषि,पशुपालन,महिला वालवालिका,रोजगार,राजस्व ,न्यायिक समिति लगायतमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा उपप्रमुख कविता उप्रेतीसहित वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु,लगायत नगरवासीको उपस्थिती रहेको थियो ।