हिंसारहित समाज बनाउने प्रतिवद्धता सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन
चितवन , २४ मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा खैरहनीमा संचालित विभिन्न कार्यक्रमको समिक्षा गर्दै आज अभियानको समापन गरिएको छ । हिंसा रहित समाज बनाउने प्रण गर्दै १६ दिने कार्यक्रमको आज समापन गरिएको हो ।
समापनमा संघसंस्थाका प्रतिनिधि ,जनप्रतिनिधिले अभियानलाई ३६५ दिनै आआफ्नो क्षेत्रबाट प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा संचालन गरि हिंसामुक्त समाज बनाउने प्रतिबद्धता जनाएका हुन। वडा मेलमिलाप समिति संयोजक शुशिला पाण्डेले १६ दिन मात्र नभई ३६५ दिननै अभियान संचालन गरे समाजमा हिंसा न्यूनीकरण हुने बताइन । खैरहनी नारी चेतना महिला बिकास सहकारी अध्यक्ष शुशिला उप्रेतिले हिंसा न्यूनीकरण भन्दा बड्दै गएकोमा चिन्ता जनाईन । देशको विभिन्न ठाउँमा भएको घटनाले हिंसा बढेको देखिन्छ उप्रेतीले भनिन् ,”जुनसुकै हिंसालाई निरुत्साहित गर्नुपर्छ ।”
खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियांले हिंसा न्यूनीकरण गर्न कार्ययोजना बनाएर काम गर्नु पर्ने बताए । हिंसा न्यूनीकरण गर्न नगर एक्लैले सक्दैन,प्रमुख खनियाले भने ,” बजेट बनाउंदा हिंसा न्यूनीकरण हुने खालका कार्यक्रम समाबेश गरिनेछ ” । प्राय धेरै हिंसा गरिविका कारण हुने गरेको भन्दै प्रमुख खनियाले त्यसलाई मध्यनजर गर्दै आयआर्जनका कार्यक्रम ल्याएको पनि बताए ।
मादक पदार्थ सेवनका कारण अधिकांश हुने गरेको उल्लेख गर्दै उनले हिंसामुक्त समाज बनाउन सबै पक्ष कडाईका साथ लाग्नु पर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख कृष्ण कुमारी गुरुङले १६ दिने अभियानमा संचालन गरिएका कार्यक्रमको जानकारी गराएकी थिइन् । उपप्रमुख कविता उप्रेती ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा समिक्षा गरिएको थियो ।