पर्सा खानेपानीको साधारणसभा,न्यूनतम यूनिट र शुल्क घट्यो, बक्यौता रकम नतिर्नेको नाम सार्वजनिक गर्ने निर्णय
चितवन , ३० मंसिर । खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २० औं वार्षिक साधारणसभा शुक्रबार भएको छ । साधारणसभाले पानीको बक्यौता महशुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने निर्णय सहित विभिन्न निर्णयहरु गरेको छ ।
साधारणसभाले २०७९/८० को लेखापरिक्षणको प्रतिवेदन अनुमोदन, वार्षिक प्रगति प्रतिवेदन , ८०/८१ को अनुमानित वार्षिक बजेट,निति तथा कार्यक्रम अनुमोदन गरेको छ । साधारणसभाले पानीको न्यूनतम यूनिट र शुल्क समेत घटाएको छ । विपन्न तथा पानी कम खपत गर्नेहरुको सहुलियतको लागि पानीको न्यूनतम यूनिट १० लाई घटाएर ५ यूनिट कायम गरिएको र न्यूनतम शुल्क समेत १३० बाट ७० रुपैयाँ बनाइएको संस्थाका कोषाध्यक्ष श्याम कुमार पाठकले जानकारी दिए । यसघि मासिक १० हजार लिटरसम्मलाई १ सय ३० रुपैयाँ लिदै आएकोमा अब मासिक ५ हजार लिटरसम्म खपत गर्नेले ७० रुपैयाँ मात्रै तिरे हुने गरि मूल्य समायोजन गरिएको उनले बताए ।
साधारणसभाले संस्थाको विधान समेत संसोधन गरेको छ । संस्थाको अध्यक्षमा उम्मेदवार हुन एक कार्यकाल संचालक समितिमा रहेर काम गरेको हुनुपर्ने गरि विधान संशोधन गरिएको संस्थाका सचिव अशोक कुमार रैलाले जानकारी दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश रुपाखेतीले स्वागत मन्तव्य , संस्थाको प्रगती विवरण संस्थाका व्यवस्थापक शंकरदेव चौधरी , लेखा समितिको प्रतिवेदन लेखा समितिका सदस्य सिताराम छत्कुली र संस्थाको भावी योजना संस्थाका अध्यक्ष गणेश बर्तौलाले प्रस्तुत गरेका थिए ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले खानेपानी संस्थाको खर्च न्यूनिकरण गर्न सुझाव दिए । स्थानिय सरकारले खानेपानी विस्तार तथा साना साना खानेपानी संस्थालाई एकिकृत गराउने विषयमा जोड दिनुपर्ने समेत सुझाव दिए । प्रदेश तथा संघबाट अनुदान स्वरुप आउने पाइपहरु गुणस्तरहिन हुदाँ छोटो समयमै पाइप फुट्ने समस्या देखिएको राजनितिक दलका प्रतिनिधिहरुले बताए । कार्यक्रममा नेपाली कांग्रेसका खैरहनी नगर सभापति गुणराज श्रेष्ठ,नेकपा एमालेका खैरहनी नगर इन्चार्ज भरत भण्डारी , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामेश्वर पोखरेल , राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राज सिलवाल , रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल,विरेन्द्रनगर खानेपानीकी कोषाध्यक्ष शशि महतो लगायतले मन्तव्य राखेका थिए ।संस्थाका अध्यक्ष गणेश बर्तौलाले खानेपानीको बक्यौता रकम उठाउन वडा तथा नगरपालिकाले सहयोग गर्न आग्रह गरे । वडा तथा नगरबाट कुनै सिफारिस लिदाँ पानीको महशुल नतिर्नेहरुको सिफारिस रोक्का गरे बक्यौता रकम उठाउन सहज हुने बताए । त्यस्तै उनले विकास निर्माणको क्रममा खानेपानीको पाइपहरु क्षति हुदाँ संस्थाको खर्च बढेको भन्दै नगरपालिकाले समन्वय गरे क्षति कम हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले पानीको बक्यौता उठाउन आफूहरु सकारात्मक रहेपनि नगरपालिकाले बाध्यकारी नियम लगाउने अधिकार नरहेको बताए । उनले खानेपानीलाई नगरपालिकाले विशेष चासो दिएको बताए । खानेपानी विस्तारको लागि कठारमा २ करोड बजेट विनियोजन गरेको बताए । ज्यामिरे क्षेत्रमा खानेपानी विस्तारको लागि राष्ट्रिय योजना आयोगको सहयोगमा सुन्दर खानेपानी मार्फत काम अगाडी बढाएको बताए । उनले खानेपानीको समस्या समाधानको लागि आवश्यक बजेट विनियोजन गर्न आफू तयार रहेको भन्दै सहकार्यको लागि आवहन समेत गरे । उनले खैरहनीको सबै क्षेत्रमा खानेपानीको पहुँच पुगेपछि निश्चित् स्थान र समुदायलाई न्यूनतम परिमाण निशुल्क खानेपानी दिने तयारीमा नगरपालिका लाग्ने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणको क्रममा खानेपानीको पाइप क्षति नहोस् भनेर अहिले आफूहरुले विशेष ध्यान दिएको नगर प्रमुख खनियाँले बताए । खैरहनीको खानेपानी संस्थाहरु एकिकरणको लागि पहल गरेर आए नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।
भिडियो