प्रशासनिक सुधारमा खैरहनी अग्रसर, १ करोड प्रशासनिक खर्च कटौती गरि १४ वटा योजना थप
चितवन , ६ पुष । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेटमा प्रशासनिक खर्च कटौती गरेको छ । खैरहनी नगरपालिकाको आज भएको चौधौ नगर सभाले आम्दानी खर्चको हालसम्मको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधन गरेको छ । आज सम्पन्न नगर सभाले कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ १ करोड रुपैयाँ बजेट घटाएको हो ।
तेह्रौ नगरसभाबाट चालु आ.वको लागि कार्यक्रम संचालन तथा प्रशासनिक खर्चको अनुमानित व्ययमा पारित ११ करोड ९९ लाखलाई संशोधन गरि १० करोड ९९ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै विषयगत शाखाहरुको व्यय अनुमान १४ करोड ५ लाखलाई १३ करोड ८६ लाख ६० हजार , विभिन्न नगरस्तरीय कार्यक्रमहरुको व्यय अनुमान ४९ लाख २५ हजार रुपैयाँलाई रकमान्तर गरी.४० लाख २५ हजार रुपैयाँ कायम गरिएको खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेतीले जानकारी दिइन् ।
प्रशासनिक खर्च तथा अन्य शिर्षकबाट कटौती गरिएको रकमले नगरस्तरिय आयोजना थप गरिएको छ । नगरपालिकाले १४ वटा नगरस्तरिय योजनाहरु थप गरेको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले जानकारी दिए । उनले तेह्रौ नगरसभाबाट अनुमानित गरिएको प्रशासनिक , शाखागत र कार्यक्रम खर्च लगायतहरुमा व्यापक कटौती गरेर १ करोड ९० लाख २३ हजारको नयाँ योजनाहरु थप गरिएको बताए । आजको नगरसभामा खैरहनी नगरबासीले अब उपचारको क्रममा रगतको लागि लाग्ने शुल्क नगरपालिकाले दिने निर्णय समेत पारित गरेको छ । खैरहनी नगरबासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनु पर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने गरी निर्णय गरेको नगर प्रमुख खनियाँले जानकारी दिए ।
त्यस्तै जग्गा वर्गिकरणको पूूर्वाधार विकास शुल्क अन्तर्गत बैंकिङ्ग प्रयोजनको लागि जग्गा वर्गिकरण गर्दा प्रति कित्ता एक हजार कायम गर्ने निर्णय समेत भएको छ । बैंकिङ्ग प्रयोजनको लागि जग्गा वर्गिकरण गर्न धेरै शुल्क तिर्दा नगरवासी मर्कामा परेकोले प्रति कित्ता एक हजार कायम गरिएको नगर प्रमुख खनियाँले बताए । नगर प्रमुख शशी कुमार खनियाको अध्यक्षता भएको चौधौं नगर सभामा नगर उपप्रमुख कविता उप्रेतीले पेस गरेको तेह्रौं नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र बिभिन्न राजस्वका दरहरूलाई संशोधन सम्बन्धी प्रस्ताव नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगरसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन न्यायिक समितिका सदस्य केदारनाथ पन्त र लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक मनेजर महतोले प्रस्तुत गरेका थिए । खैरहनी नगरपालिकाको चौधौं नगरसभामा कार्यपालिकाले चालु आ.व श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको संगठन तथा व्यवस्थापन, सर्वेक्षण प्रतिवेदन समेत सर्वसम्मतिले पारित गरेको नगर सभाका सचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिए ।