खैरहनी अस्पतालको भवन निर्माणको क्रममा सामान अन्यत्र सारेर भएपनि सेवा दिइने
चितवन , १ चैत ।
खैरहनी नगर अस्पतालको नयाँ भवन निर्माण तथा पुरानो भवन रेट्रोफिटिङको क्रममा अस्पतालको सामान अन्यत्र सारेर भएपनि स्वास्थ्य सेवा निरन्तर दिइने भएको छ । १५ शैयाँको नगर अस्पताल निर्माणको काम अहिले भइरहेको छ । नयाँ भवनसंगै पुरानो भवनमा समेत केहि परिपार्जन सहित तला थप गर्नुपर्ने भएकोले सोहि स्थानमा सेवा दिन नसकिने भएपछि अस्पतालको सामान अन्यन्त्र सारेर भएपनि सेवा निरन्तर दिने तयारी सुरु भएको हो ।
अस्पताल भवन निर्माणको क्रममा अस्पतालबाट दिदै आएको सेवाहरु अवरुद्ध हुन नदिन अहिले खैरहनी नगरपालिका अग्रसर भएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनियाँ , उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा , खैरहनि ६ का वडा अध्यक्ष कमल न्यौपाने , खैरहनी ८ का वडा अध्यक्ष शंकर कंडेल , इन्जिनियरहरु सुमन श्रेष्ठ , योगेश चापागाई , अस्पतालका चिकित्सकहरु , निर्माण व्यवसायी सहित मंगलबार भएको छलफलले यथासिघ्र अस्पतालको सामान नजिकैको भवनहरुमा सारेर सेवा दिने र हालको स्थान खाली गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउने तयारी सुरु भएको हो । खैरहनी नगरपालिकाले अस्पतालमा रहेको सामानहरु नजिकैको कृषि सहकारीको भवन , वडा नम्बर ६ को कार्यालयको भवनबाट अस्पतालबाट दिदै आएको सेवाहरु दिने तयारी भएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले समावेशी खबरलाई जानकारी दिए । अस्पतालको नयाँ भवन अपाङमैत्री हुुने र विरामीको सहजताको लागि लिफ्ट समेत रहने छ ।
भिडियो
१२ कोठा रहने नयाँ भवन र पुरानो भवनको रेट्रोफिटिङ सहित तला थप गर्न ९ करोड ८६ लाख ४ हजार १ सय २६ मा ठेक्का सम्झौता भएर आशिष जि एस निर्माण सेवाले काम गरिरहेको खैरहनी नगरपालिकाका एन्जिनियर योगेश चापागाँईले बताए । अस्पतालको सुविधासम्पन्न भवन निर्माण नहुदाँसम्म नजिकैको भवनहरुबाट सेवा प्रभाव गर्ने नगर प्रमुख खनियाँले बताए । चैत अन्तिमभित्र अस्पतालको सामानहरु सारेर निर्माण व्यवसायीलाई काम गर्न ठाँउ खाली गर्ने तयारी गरिएको छ । नयाँ भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवालिन सहज हुनेमा विश्वस्त रहेको नगर प्रमुख खनियाँले बताए ।
अहिले अस्पतालको नयाँ भवनको जगको काम र पिलर ढलानको काम सकिएको छ । डेढ बर्षभित्रमा अस्पतालको भवन निर्माणको काम सक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रतिनिधि विराट गौलीले जानकारी दिए ।