खैरहनीमा भर्ना अभियान सुरु,सामुदायिक विद्यालयमा भर्नाको नाममा शुल्क नलिन मेयरको निर्देशन
चितवन , ३ बैशाख । खैरहनीको सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । २०८० सालको शैक्षिक सत्रको लागि खैरहनी नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा आजबाट विद्यार्थी भर्ना अभियान सुरु भएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले खैरहनी १० को कठार माविमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसँगै पाठ्यपुस्तक वितरण गर्दै अभियानको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयमा भर्नाको नाममा विद्यार्थी तथा अभिभावकबाट कुनैपनि शुल्क नलिन निर्देशन दिए । राज्यले भनेको निशुल्क शिक्षाको विपरित हुनेगरि केहि विद्यालयले शुल्क लिएको गुनासो आएकोले त्यस्तो कुनैपनि शुल्क लिन नपाइने नगर प्रमुख खनियाँले प्रष्ट पारे । विद्यालयललाई केहि समस्या भए नगरपालिका सहयोग गर्न तयार रहेको भन्दै नगर प्रमुख खनियाँले विद्यार्थीबाट शुल्क लिन नहुने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन केहि दिनमै शिक्षक मिलानको प्रक्रिया सुरु गर्ने बताए ।
विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भनेर सरकारले अभियानकै रुपमा विद्यार्थी भर्ना कार्यक्रम संचालन गरेको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । अभियानको क्रममा विद्यालय जाने उमेर भएका नयाँ विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा निरन्तरता दिन प्रेरित गर्न अभियान सार्थक हुने बताए ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्मा , खैरहनी १० का वडा अध्यक्ष चन्द्रविक्रम चौधरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द सिलवाल , विद्यालयका प्रधानाध्यापक कृष्ण घिमिरे लागायतले विशेष गरि दलित , जनजाति, मुसहर समुदायका वालबालिका विद्यालय कम आउने गरेकोले उनीहरुलाई प्राथमिकता दिएर विद्यालयमा भर्ना गराउनुपर्नेमा जोड दिए । बालबालिकाको शिक्षाको सवालमा अभिभावकहरु थप जिम्मेवार हुनुपर्ने उनीहरुले बताए । कठारसँगै नगर प्रमुख खनियाँले आज खैरहनी २ स्थित जनजिवन माविमा आयोजित विद्यार्थी भर्ना शुभारम्भ कार्यक्रमको समेत उद्घाटन गरेका थिए ।