उपराष्ट्रपति चयनका लागि आज मतदान : नतिजा आजै सार्वजनिक गरिने
काठमाडौँ, ३ चैत । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने जनाएको छ । उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ ।
जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ। जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ ।