अस्पतालका एम्बुलेन्स प्रयोगविहीन
डोल्पा, ३ चैत । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ । दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरका माध्यमले बिरामीलाई अस्पतालसम्म ल्याउने गरिन्छ । स्टेचरमा राखेर बिरामी ल्याउन र लैजानसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पु¥याउन समस्या हुँदै आएको छ ।
कतिपय गर्भवती अस्पतालसम्म ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डा सुस्मिता जोशीले बताइन् । अस्पतालमा बिरामीलाई लैजान र ल्याउन भेरी नदी बाधक बनेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरका भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुयाउने गरिएको डा जोशीले बताइन् । “साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । पच्चीस शय्याको नयाँ अस्पतालको निर्माणको काम जारी छ ।