पत्रकार बिक्रीमा छन्, जिम्मेवार छैनन् : सभामुख घिमिरे
काठमाडौँ, ३ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डल सँगको भेटमा उनले थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे । मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए । सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि उनले स्मरण गराए । “पित पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरु । अब पत्रकारहरु बिक्रीमा छन् । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले,” उनले भने, “किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभाव चाहिँ कुनै न कुनै रुपमा परिरहेको छ ।”