बालाजु बृतका पूर्वप्रमुख डीएसपी रविन विष्टको तीन वर्ष बढुवा रोक्का
काठमाडौं । गत फागुन १ गते यातायात ब्यवसायीको आन्दोलनका क्रममा बालाजु माछापोखरी बसपार्क क्षेत्रमा भएको लुटपाट , आगजानी र नारावाजीको घटनामा ब्यवसायिक जिम्मेवारी पूरा नगरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्सालले बालाजु बृतका पूर्वप्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको छ । विष्टले उक्त दिनको घटनामा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले त्यस्तो कारबाही गरेको हो ।
घटनाबारे छानिबन गर्न डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । त्यही समितिले दिएको प्रतिवेदनमा आधारित रहेर समितिले गरेको सिफारिसका आधारमा विष्टको बढुवा रोक्काको निर्णय प्रहरी प्रधान कार्यालयले गरेको हो । तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डीएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय भएको छ । माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका थिए ।
प्रदर्शनकारीले विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कर्पियोमा पनि तोडफोड र आगजनी गरेका थिए । घटनालगत्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रदर्शनका क्रममा यातायात व्यवसायीले ल्होत्से मलमा मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । यो घटनामा प्रहरीले परिस्थितिको पूर्वमूल्यांकन गर्न नसक्दा चुक भएको छानबिन समितिको ठहर छ ।