खैरहनी नगर अस्पतालमा भिडियो एक्सरे सेवा सुरु,पहिलो दिनमै१६ जनाले सेवा लिए
चितवन , ४ माघ ।
खैरहनी नगर अस्पतालमा विमामार्फतको भिडियो एक्सरे सेवा सुरु भएको छ । खैरहनी नगरअस्पतालमा हप्ताको दुईदिन सेवा दिने गरि आजबाट भिडियो एक्सरे सेवा सुरु भएको हो । सेवा सुरु भएको पहिलो दिनमै १६ जनाले सेवा लिएको खैरहनी नगर अस्पतालको प्रमुख डा. प्रशान्त कंडेलले जानकारी दिए ।
नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममार्फत विमा गराएकाहरुले प्रत्येक हप्ताको बुधबार र शुक्रबार दिउँसो १२ बजेबाट भिडियो एक्सरे सेवा पाउने डा.कंडेलले बताए । खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनिया र उप प्रमुख कविता उप्रेतीले आज भिडियो एक्सरे सेवाको उद्घाटन गरेका थिए । नगर अस्पतालमा भिडियो एक्सरे सुरु भएपछी नगरवासी लाभान्वित हुने नगर प्रमुख खनियाले बताए । विमा गराएकाहरुको भिडियो एक्सरे सेवा नगर अस्पतालमा सुरुभएपछि विमाको सेवा लिन बकुलहर र भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख खनियाँले बताए ।
नगर अस्पतालमा हप्ताको दुईदिन रेडियोलोजिष्ट डा.रमेश घिमिरेले भिडियो एक्सरे सेवा दिने खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए ।