दोस्रो खैरहनी महोत्सव सुरु,उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ :मुख्यमन्त्री जमरकट्टेल
चितवन , ४ माघ । चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा आजबाट सुरु भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् ।
सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले अब उत्पादनमुलक व्यापार व्यवसायमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अब उत्पादनमुलक काममा नलागे समृद्धिमा पुग्न नसक्ने उनले बताए । उत्पादनमुलक काममा लगाउन प्रदेश सरकारले १० हजार युवालाई तालिम दिने तयारी गरेको बताए । सरकारीले दिने अनुदान पहुँचमुखी भएको भन्दै अब अनुदान नदिने बरु बिउँ पुजीको रुपमा लगानी गर्ने मुख्यमन्त्री जमरकट्टेलले बताए । उनले व्यवसायीहरुले समेत निर्वाहमुखी व्यवसायको तरिका बदलेर अब उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने बताए । अब एउटापालिका एउटा पकेट क्षेत्रको अवधारणामा जानुपर्ने उनले बताए । उनले अहिले व्यक्तीमा लगानी हुने गरेको भन्दै व्यक्ती धनी बनेर नहुने समुदायमा लगानी गरेर धेरै जनता धनीहुने वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । बागमती प्रदेश सरकारले १३ जिल्लाको २६ वटा पकेट क्षेत्र घोषणा गरेर उत्पादनको क्षेत्रमा नमूना बनाउने लक्ष्य लिएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले पूर्वी चितवन कृषिको प्रचुर संभावना वोकेको क्षेत्र भएकाले यस भुगोललाई कृषि क्रान्तिको लयमा लैजान सामुहिक खेतीलाई प्रोत्साहन गर्दै निर्याततर्फ ध्यान दिन जरुरी रहेको बताए । कृषि र कृषि पेशालाई व्यवस्थित गराउन बागमती प्रदेश सरकार लाग्ने उनले दावी गरे । कृषिलाई औद्योकिरण गरि देशभित्रै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने मन्त्री थपलियाले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद उत्तम जोशी,नेपाल उद्योग बािणज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ,खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँ,नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल,नेकपा एमाले जिल्ला प्रतिनिधी जगन्नाथ आचार्य,नेकपा माओवादी जिल्ला संयोजक रामचन्द्र अधिकारी,राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकाल, उद्योग बाणिज्य संघ भक्तपुर अध्यक्ष राज्यलक्ष्मी शाक्य,उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,थारु कल्याणकारीणी सभा जिल्ला अध्यक्ष ललितकुमार चौधरी,खैरहनी २ का वडाध्यक्ष रोहिणी प्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले कर तथा राजश्व सम्बन्धी अस्पष्टता , अव्यवहारिक निति , आर्थिक नितिको अन्यौलता , उच्च बैंक ब्याजदरको कारण व्यवसायीहरु मारमा परेको बताए । उद्योग वाणिज्य संघले आर्थिक चलायमान बनाउन गर्ने मेला महोत्सव जस्ता गतिविधीहरुलाई सहयोग गर्न समेत आग्रह गरे । माघ १५ गतेसम्म चल्ने महोत्सवमा २५० वटा स्टलहरु रहनुका साथै महोत्सव अवधिभर करिव ७० करोड बरावरको कारोवार हुने उद्योग वाणिज्य संघका महासचिव केदार बर्तौलाले बताए । महोत्सवमा सुचना प्रविधि,हस्तकला प्रर्दशनी,कृषि प्रर्दशनी तथा प्रतियोगिता,स्वास्थ्य शिविर,पर्यटन प्रर्वद्धनका लागि विभिन्न कार्यक्रम हुने महासचिव वर्तौलाले बताए । महोत्सव उद्घाटन अघि खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणबाट विभिन्न संघ संस्था तथा समुदायको झाँकी सहितको शोभा यात्रा निकालिएको थियो ।