भण्डारा प्रहरीको कमाण्ड फेरिएको १२ घण्टामै समातियो गाँजा
चितवन , ४ चैत । पूर्वी चितवनको इलाका प्रहरी कार्यालय भण्डारामा प्रहरीको कमाण्ड फेरिएसंगै गाँजा समातिएको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक कुमार गुरुङ सरुवा भएर प्रहरी निरिक्षक श्याममणी पोखरेल आएको १२ घण्टा नहुदै प्रहरीको टोलीले राप्तीमा गाँजा बरामद गरेको छ ।
राप्ती नगरपालिका वडा नम्बर २ राईटोलबाट प्रहरीले ६५ केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी नायव निरिक्षक पदम बहादुर बस्ताकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहान २ बजे प्रतिबन्धित लागुऔषध गाँजासहित राप्ती १२ निवासी ३२ वर्षिय चन्द्र बहादुर प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
प्रहरी निरिक्षक कुमार गुरुङ ११ महिना इलाका प्रहरी कार्यालय भण्डाराको प्रमुखको रुपमा कार्यभार समालेर शुक्रबार दिउँसो गएका थिए । उनी गएसँगै नयाँ आएका प्रहरी निरिक्षक श्याममणी पोखरेलले कार्यभार सम्मालेका थिए ।