को-को छन् उम्मेदवार दाबी गर्ने कांग्रेस र एमालेका नेताहरू ?
काठमाडौँ , ७ चैत्र । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएर कार्यभार सम्हालेपछि त्यो क्षेत्र रिक्त भएको छ । रिक्त क्षेत्रमा निर्वाचन आयोगले आगामी १० बैशाखमा निर्वाचन गर्ने मिति सोमबार तय गरिसकेको छ । र, १२ चैतसम्म उपनिर्वाचनमा सहभागी हुन चाहने दललाई दर्ता भइसक्न निर्देशन दिएको छ ।प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन सत्ता गठबन्धनका उम्मेदवार पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिष्पर्धा कांग्रेस र एमालेबीच नै हुँदै आएको छ ।
कांग्रेसबाट उम्मेदवार बन्ने पौडेल २०४८ सालदेखि २०७९ को निर्वाचनसम्म बीचमा एक पटक २०७४ को चुनावबाहेक अरू बेला तनहुँबाट जितिरहेका थिए । २०७४ मा भने एमाले र माओवादीबीच तत्कालीन वामगठबन्धनबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए । १० बैशाखमा निर्वाचन हुने मिति तोकिएपछि कांग्रेस र एमालेबाट उम्मेदवार बन्न त्यस क्षेत्रमा नेताहरूले आ–आफ्नो पार्टीमा लविइङ सुरु गरेका छन् ।प्राय कांग्रेसले जित्ने यो क्षेत्रमा कांग्रेसबाट प्रतिष्पर्धी धेरै देखिएका छन् । कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेर तनहुँ १ को टिकट माग गरिरहेका छन् ।देउवा निवासमा नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, ध्रुव वाग्लेले पुगेर टिकटमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । यी मध्य गोविन्द भट्टराई र वाग्ले पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।
भट्टराईको नाम मंसिरको निर्वाचनमा पनि त्यो क्षेत्रमा सिफारिस भएको थियो । तर, पौडेल लड्ने भएपछि अन्तिम समयमा आएर उनले आफ्नो दाबी फिर्ता लिएका थिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष र पार्टीमा सिनियर भएर पनि अवसर नपाएका नेतामा पर्ने भट्टराईले नै टिकट पाउने सम्भावना प्रवल छ । यता एमालेबाट नेपाल प्रहरीका पूवमहानिरीक्षक सर्वेन्द्र खनालदेखि मंसिरमा पौडेलसँग पराजित एकबहादुर रानासम्मले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा पुगेर भेट्दै आफ्नो दाबी प्रस्तुत गरेका छन् ।एमाले स्रोतले गत निर्वाचनमा पौडेलसँग पराजित राना मुख्य दाबेदार रहेको बतायो । उनी गत मंसिरको निर्वाचनसहित ४ पटक पराजित भएका छन् । ‘रानाप्रति अध्यक्षज्यूको सहानभूति छ, त्यसैले उहाँको सम्भावना अलि बढी छ,’ एमालेका एक नेताले भने ।
गत निर्वाचनमा काठमाडौं ६ बाट पराजित खनाल गृहजिल्ला फर्किन चाहेका र उनी पनि टिकट पाउने सम्भावितमध्ये एक भएको एमाले नेताहरू बताउँछन् ।त्यस्तै एमालेबाट तनहुँ १ मा किरण गुरूङ, रामबहादुर गुरूङ र पूर्णबहादुर गुरुङले पनि आफ्नो दाबी प्रस्तुत गरेका छन् । तिनैजना गत निर्वाचनमा पराजित उम्मेदवार हुन् । किरण तनहुँ २, रामबहादुर तनहुँ १ ‘१’ र पूर्णबहादुर २ ‘१’ बाट पराजित भएका थिए ।