तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन १२ चैतसम्म दल दर्ता गरिसक्नु पर्ने
काठमाडौँ , ७ चैत्र । निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्न चाहने दलहरूलाई दल दर्ताको समय छुट्याएको छ । आयोगले सूचना जारी गर्दै आयोगले चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गराइसक्ने दलहरूले मात्र निर्वाचन लड्न पाउने उल्लेख गरेको छ । आयोगले ती दुई स्थानमा यसअघि तय गरेको चितवन–२ मा उपनिर्वाचन गर्ने मिति १० बैशाखमै उपनिर्वाचन गर्ने समय सोमबार बैठक बसेर निर्धारण गरिएको जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिकराम पौड्यालले चितवन २, बारा २ र तनहुँ १ मा २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। बारा २ मा निर्वाचित तत्कालीन जसपाका महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए। तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए। रिक्त रहेका ३ प्रतिनिधि सभा सदस्य चयनका लागि वैशाख १० मा एकै दिन उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो ।