माओवादीभित्रै गृहमा आकांक्षी बढ्दा प्रचण्ड अप्ठ्यारोमा
काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको ८९ दिन पुग्यो । उनीसँगै अहिले थप १६ मन्त्रालय आफ्नै काँधमा छ । पुस १० मा एमाले, राप्रपासहितको साथ लिएर सरकारको तालाचावी बुझेका प्रचण्डले यसबीचमा समिकरण बदलेका छन् । एमाले, राप्रपाले प्रचण्डको साथ छोडेका छन्, तर उनलाई कांग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुले काँध थापेका छन् । दुई पटक संसदमा विश्वासको मतकै सामना गरेका प्रधानमन्त्री प्रचण्डले अहिले मन्त्रिमण्डल विस्तारको आन्तरिक गृहकार्य गरेका छन् । तर उनलाई मन्त्रालय भागवन्डा र नेताहरुको ब्यवस्थापन मिलाउन सहज भने देखिएको छैन ।
एकातिर गठबन्धनमा रहेका दलहरुको चित्त वुझाउनु पर्ने बाध्यता र अर्काेतिर आफ्नै पार्टी नेताहरुको गृह मन्त्रालयमा देखिएको ‘मोह’ ब्यवस्थापन उनका अगाडी सबैभन्दा पेचिलो बनेर देखा परेको छ ।प्रचण्डले पुस ११ मा पदभार ग्रहण गरेसँगै दुई मन्त्रालय वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको कार्यभार आफैसँग राखिरहेका छन् । गृह मन्त्रालयको जिम्मेवारी आफ्नै काँधमा बोकेको पनि आज ५५ दिन वितेको छ । झन् २४ दिन यता प्रधानमन्त्रीसँग थप १३ मन्त्रालयको भारी थपिएको छ । प्रधानमन्त्रीमाथी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहबाट पदमुक्त भएसँगै गृह नछोडन पार्टीभित्र चर्काे दवाव छ । पार्टी नेताहरुको ब्यवस्थापन र माओवादी नेता–कार्यकर्तामा द्दन्द्दकालिन मुद्दामा अन्य राजनीतिक दल तथा बाह्य शक्तिकेन्द्रहरुले गर्न सक्ने राजनीतिका कारण पनि गृह मन्त्रालय नछोडन यसपटक चर्काे दवाव परेको छ ।
यही दवावका कारण पनि गृहमन्त्रालय माओवादीले अन्य दललाई नदिई यसपटक आफैसँग राख्न चाहेको छ । प्रधानमन्त्रीले गृह, सञ्चार जस्ता मन्त्रालय आफैसँग राख्ने गरी मुख्यतः गठबन्धनका अन्य दल कांग्रेस, एकीकृत समाजवादी र जसपाका शीर्ष नेतासँग अनौपचाकिर भागवन्डाको छलफल थालेपछि गृह आफनो पोल्टामा पार्न माओवादीका नेताहरु चर्काे लविङमै लागेका छन् । गृहमन्त्रालय माओवादीले लिँदा माओवादीभित्र अहिले भौतिक पूर्वाधार मन्त्रीको कार्यभार सम्हालिरहेका नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीले दावी गदै लविङ थालेका छन् ।
उपमहासचिव जनार्दन शर्मा तत्काल मौन बसिरहेका र अर्का उपमहासचिव बर्षमान पुन ‘अनन्त’ बिरामीका कारण चीनमा रहेका बेला गृहमा श्रेष्ठ, बस्नेत, शाही र घर्तीले चासो राख्दै लविङ थालेका हुन् ।उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले माओवादीका भागमा गृह लिँदा अहिले आफुले सम्हालिरहेको मन्त्रालय माओवादीको भागमा पर्ने÷नपर्ने त्यसको समेत हिसाव हेरिरहेका छन् । श्रेष्ठ गृहसहित भौतिक पूर्वाधार पनि माओवादीले पाएमा गृहमा अर्काे नेताले उछिटाएमा पनि चित्त बुझाउने पक्षमा देखिएका छन् । तर भौतिक पूर्वाधार माओवादीको भागवन्डामा नपर्ने तर गृह पर्ने अवस्थामा भने श्रेष्ठ जसरी पनि गृहमा जाने रणनीतिमा छन् । श्रेष्ठको ब्यवस्थापन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डका लागि पनि पेचिलो बनेको छ ।
तर अहिले प्रधानमन्त्रीलाई बालुवाटारमै बसेर दिन रात भित्रियाका रुपमा साथ दिईरहेका उपमहासचिव शक्ति बस्नेत पनि गृहकै आकांक्षी छन् । बर्षमान पुन स्वस्थ्य रहेका भए यसपटक प्रधानमन्त्री प्रचण्डले पुनलाई गृह बनाएर अन्य नेतालाई चुप लगाउने सहज बाटो बन्न सक्थ्यो । तर उनको अस्वस्थ्थतामा अन्य आकांक्षी नेताहरु बढी देखिन थालेपछि प्रचण्डलाई गृहमा ब्यवस्थापन सकस पर्ने देखिएको हो ।
बस्नेतले गृहको लविङका लागि प्रतिस्पर्धी मानिएका नेताहरु वर्षमान देखि जनार्दनसम्म पनि मिलाउने गरी अहिले आफनो बलियो उपस्थिती देखाउन खोजिरहेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासम्मका नेताहरुको बीचमा रहेर सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने देखि अहिलेको सत्ता गठबनधनका भित्रिया बैठक ब्यवस्थापन लगायतका काममा पनि बस्नेतले प्रधानमन्त्रीलाई सघाउने काम गरिरहेका छन् । यस आधारमा गृहमा बस्नेतको दावी अन्य नेताको तुलनामा बलियो देखिन पुगेको माओवादी बृतमै चर्चा छ ।
तर युवा पुस्ताका र विगतमा पालो नपाएकालाई प्रधानमन्त्रीले सरकारमा यसपटक लगेका आधारमा आफुहरुले गृह पाउनुपर्ने भन्दै पूर्व उर्जामन्त्री समेत रहेका र कर्णाली प्रदेशको मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही र लुम्बिनी प्रदेशका पूर्व सभामुख रहेका पूर्णवबहादुर घर्तीले पनि लविङ गरिरहेको माओवादीका नेताहरु बताउँछन् ।
उपमहासचिव बर्षमन पुन अनन्तको स्वास्थ्य अवस्थामा सुधार आएकोले कतिपयले उनलाई नै गृह जिम्मा दिनुपर्ने भन्दै लविङ पनि गरिरहेका छन् । पुनलेकेही दिन अगाडी प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवालाई चीनबाटै टेलिफोन गरी आफु स्वस्थ्य हुँदै गएको भनी दिएको सन्देशभित्र आफु पनि मन्त्रीको दावीमा छु हैं भन्ने भित्री सन्देश भएको ती नेताहरुब ताउँछन् । यधपी उनको स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री र पुन आफैले यसलाई कसरी लिन्छन् भन्ने प्रश्न भने छ ।
पार्टीका कुनै न कुनै तहमा पहुँच राख्ने यी प्रभावशाली नेताहरूले नै गृहमन्त्रीमा आकांक्षा देखाएपछि माओवादी केन्द्रभित्र गृह आफनो पार्टीको भागमा पर्दा पनि मन्त्री छनोटको विषय पेचिलो बन्ने देखिएको छ । माओवादीभित्र गृह मोहमा नेताहरूको आन्तरिक द्वन्द्वले पनि प्रभाव पारेको नेताहरू स्वीकार्छन्। नेता श्रेष्ठको माओवादीभित्र अलग समुह छ । बस्नेत गृह आउँदा जनार्दनलाई कर्णालीमा आफनो प्रभावमा केही तलमाथी होला भन्ने भय छ । तर कतिपयले यसपटक बस्नेतलाई गृह बनाउन जनार्दन शर्माले नै भित्री भूमिका खेल्ने चर्चा पनि चलेको छ ।
खासगरी लुम्बिनी र कर्णालीकै नेताहरुका बीचमा गृह मोह बढी देखिनुले माओवादीभित्रको आन्तरिक द्दन्द्दले पनि भूमिका खेलिरहेको एमा माओबादीका पदाधिकारीले मेरोन्यूजलाई बताएका छन् ।पार्टीभित्र बर्षमन र जनार्दनको बढदो आन्तरिक द्दन्द्दका कारण पनि गृहमन्त्रीको लफडा माओवादीभित्र रोचक बन्न थालेको छ । गृहमा दावी गरिरहेका नेताहरु अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कुनै न कुनै रुपका विश्वासप्राप्त नेता हुन् ।
गृह मन्त्रालयमा नेताहरूको मोह देखिनुमा यसभित्रको स्रोत साधान परिचालनदेखि सेवा सुविधा नै प्रमुख कारण हो। गृहको आकर्षण भनेकै प्रहरी परिचालन, जिल्लाका सीडीओ परिचालन, दैनिक लाखौं रुपैयाँसम्म सुरक्षाका नाममा खर्च गर्न पाउने, आर्थिक सहायता दिने अधिकार राख्नेदेखि अरू मन्त्रालयको क्षेत्राधिकार नपरेका क्षेत्रसमेत हेर्न पाउने भएकाले गृहमा नेताहरूको मोह देखिनु खोजेको माओवादी नेताहरु बताउँछन् ।
कांग्रेसमा पनि गृह मन्त्रालय आफुले पाउनुपर्ने अडान केही नेताहरुको छ । तर प्रधानमन्त्रीले कांग्रेसलाई अर्थ र परराष्ट्र जस्ता मन्त्रालय दिएर गृह भने आफुले राख्न चाहेका हुन् । कांग्रेसका पूर्णबहादुर खड्का सरकारमा कांग्रेसबाट नेतृत्व गरेर जाँदा उनले गृह दावी गर्नसक्ने तिर प्रधानमन्त्री सचेत देखिन्छन् । तर उनी सरकारमा आएपनि उनलाई अर्थ दिएर गृह आफनो पार्टीको भागमा राख्न प्रधानमन्त्री लागेका छन् । तर एकीकृत समाजवादीले पनि अन्य दलहरुले भागवन्डामा सम्वैधानिक पद पाएकोले गृह आफुले पाउनुपर्ने दावी गरेको छ । प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई विगतमा राप्रपाले लिएका मन्त्रालय बाट रोजेर दिने र गृह भने आफैसँग राख्न कसरथ गरिरहेका छन् ।