खैरहनीमा महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सुरु
चितवन , १५ चैत ।
खैरहनीमा महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सुरु भएको छ । खैरहनी नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै ६० दिने लोक सेवा तयारी कक्षा सुरु गरेको हो ।
लोक सेवा तयारी कक्षाको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले आज उद्घाटन गरेका छन् । नगरपालिकाले महिला सशक्तिकरणको लागि विभिन्न तालिमहरुसँगै लोक सेवाको तयारीको लागि कक्षा संचालन गरेको बताए । नगरपालिकाकाले कार्यक्रमको लागि मात्रै , बजेट सक्नलाई मात्रै नभई त्यसको प्रतिफल आउने गरि कक्षा संचालन गर्न आग्रह गरे । लोक सेवा तयारी कक्षामा लापरबाही गर्ने छुट कसैलाई नभएको उनले प्रष्ट पारे । लोक सेवाको परिक्षामा खैरहनीका धेरै महिलाहरु उत्तिर्ण भएर निजामति सेवामा प्रवेश गरेको हेर्ने इच्छा रहेको नगर प्रमुख खनियाँले बताए ।
कार्यक्रममा खैरहनीको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुषालले प्रविधिको सहि प्रयोग गर्दै अध्ययन गर्न सकिने बताए । राजनिति गर्नेको कार्यकाल छोटो भएपनि कर्मचारीहरुको कार्यकाल लामो हुने भएकोले लोकसेवाबाट सेवामा प्रवेश गर्नेको भविष्य उज्जवल रहेको उनले बताए ।
खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले लोक सेवा तयारी कक्षामा समावेश भएकामध्य धेरैजना उत्तिर्ण भएमात्रै कार्यक्रम सफल भएको सिद्ध हुने बताए । उनले मेहनत नगरि सफल नहुने भएकोले अध्ययन गर्ने र अध्यापन गराउने दुवैपक्ष जिम्मेवार भएर अगाडी बढ्न आग्रह गरे । लोक सेवा तयारी कक्षाको लागि खैरहनीमा रहेको लोकसेवा सारथी प्रा.लिले सहजिकरण गरेको छ । तयारी कक्षामा ६० जना महिलाहरुको सहभागिता रहेको खैरहनी नगरपालिकाको महिला , बालवालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख कृष्णा कुमारी गुरुङले जानकारी दिइन् ।