११औं पोल्ट्री दिवसमा प्रभातफेरी,रक्तदान र ‘चिकेन एण्ड एग फेस्टिवल’
चितवन, १७ पुस । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा चितवनमा विभिन्न कार्यक्रम भएका छन् । ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराकासाथ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले प्रभातफेरी , रक्तदान र चिकेन एण्ड एग फेस्टिवल गरेको हो ।
चितवन उद्योग संघको परिसरबाट भरतपुरको क्षेत्रपुरसम्म बाजागाजासहित प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा सहभागीहरुले कुखुरा र अण्डाका फाइदाहरु , कुखुरा र अण्डाको सेवन गरौं जस्ता प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रभातफेरी पुर्व चितवन उद्योग संघको परिसरमा राखिएको कुखुराकोे दुईवटा मूर्ति समेत अनावरण गरिएको छ ।
त्यस्तै आजै भरतपुरको क्षेत्रपुरमा रक्तदान कार्यक्रम समेत भएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेको मञ्चका महासचिव ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
सोहि स्थानमा आज अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको थियो । फेस्टिबलमा कुखुराको मासु र अण्डा निःशुल्क वितरण गरिएको थियो । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अण्डाको महत्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताए । कुखुराको मासु र अण्डाको महत्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उनको भनाइ थियो ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीहरुमा असर पारेको बताए । यो समयमा कुखुराको मासु र अण्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उनले बताए । स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उनले सबै खाले रोगीका लागि उपयुक्त हुने अण्डाको महत्व बुझाउन जरुरी रहेको बताए । दिवसका अवसर पारेर भएका सप्ताहव्यापी कार्यक्रमको समेत आज समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा र कुखुराको मासुको महत्व बारेमा जानकारी गराइएको थियो । त्यस क्रममा २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे जानकारी गराइएको अध्यक्ष भट्टले बताए ।
भिडियो