उद्योग वाणिज्य संघ चितवनको निर्वाचन: सुमनकुमार श्रेष्ठको समूहले जारी गर्यो २९ बुँदे प्रतिबद्धता पत्र
चितवन, १८ पुष । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा एवं अधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा उम्मेदवारी दिएका सुमनकुमार श्रेष्ठको समूहले २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । पुस २१ र २३ गते हुने साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिएका श्रेष्ठको समूहले आज बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
अध्यक्षमा उम्मेदवारी दिएका सुमनकुमार श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्ष राजेन्द्र ओली, वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्ष नारायण प्रधान र उद्योगतर्फ उपाध्यक्ष अशोक अधिकारी उम्मेदवार रहेका छन् । आफूसहित सम्पूर्ण टिमलाई अत्यधिक बहुमतले विजयी गराउन अध्यक्षका उम्मेदवार श्रेष्ठले सम्पूर्ण व्यवसायीहरुसँग अपिलसमेत गरे । अहिले चलिरहेको आर्थिक मन्दी, यसको प्रभाव, विभिन्न शीर्षकमा लिइने कर तथा विकास निर्माणका कार्यमा भएको ढिलाईका कारण सिर्जित परिस्थितिले गर्दा उद्योग व्यवसाय विस्थापित भएका पत्रकार सम्मेलनमा श्रेष्ठले बताए ।
महँगी दर बृद्धिले गर्दा व्यवसायी समेत चरम मारमा परेको भन्दै निजी क्षेत्रले आफै नीति नियम बनाउने भन्दा पनि व्यवसायमैत्री नीति बनाउन सरकारलाई खबरदारी गर्ने, सुझाव सल्लाह दिने र दबाबमूलक कार्यक्रमहरू आयोजना गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसको नेतृत्व आफूले गर्ने उनले बताए । व्यवसायको क्षेत्रमा देखिएका चरम समस्यामा श्रेष्ठले आफ्नो समूह सदैव उद्यमी व्यवसायीको पक्षको उभिने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले आफू नेतृत्वको समूहमा अनुभवी र परिपक्व उम्मेदवारदेखि नयाँ जोश जाँगर र इच्छाशक्ति भएका कर्मठ युवा उद्यमीहरु रहेको भन्दै आफ्नो समूलाई निर्वाचित गराउन उद्योगी व्यवसायीसँग आग्रह गरे। पत्रकार सम्मेलनमा संघको संस्थागत विकासदेखि जिल्लाको समग्र विकासमा योगदान पु¥याउने कटिबद्धताका साथ आफ्नो समूह चुनावी प्रक्रियामा होमिएको श्रेष्ठले बताए । श्रेष्ठले आफू नेतृत्वको समूह निर्वाचित भएमा व्यवसायीले महसुस गर्ने खालका कार्यक्रम ल्याउने वचनबद्धता व्यक्त गर्दै २९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता
१ ) उद्यमी व्यवसायीमा देखिएको चरम निरासालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।
२) उद्यमी व्यवसायीको सानादेखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।
३) व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने ।
४) बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिमसम्म कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
५) व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।
६) संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।
७) आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्ने ।
८) चितवन जिल्लाको पूर्वि भाग र पश्चिम क्षेत्रबाट आउने सार्वजजिक सवारी साधनलाई नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने (पिक एण्ड ड्रप) को व्यवस्था गर्ने ।
९) चितवनको समग्र विकासको लागि बृहत आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने ।
१०) वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीय संयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।
११) संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।
१२) कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।
१३) स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवद्र्धन गरिने ।
१४) विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।
१५) स्थानीय, प्रदेश र संघीय सरकारसँगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।
१६) संघ र अन्तर्राष्ट्रिय उवासंघहरूसँग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवद्र्धन गर्ने ।
१७) एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल गर्ने ।
१८) नारायणगढलाई प्रवद्र्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित डिजिटल बोर्ड राख्ने ।
१९) संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।
२०) संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।
२१) मेला महोत्सवलाई व्यवस्थित र संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने
२२) सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।
२३) संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।
२४) संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।
२५) चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।
२६) सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने
२७) चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।
२८) सफलता प्राप्त “एक गाउँ एक उत्पादन“ कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग पहल गर्ने ।
२९) संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।