उत्प्रेरणाको प्रेरणादायी कारोबार ,शत प्रतिशत असल कर्जामा लगानी
चितवन , २५ पुष । खैरहनीमा रहेको उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रेरणादायी कारोबार गरेको छ । पछिल्लो समय धेरै सहकारीहरु लगानी गरेको कर्जा उठाउन नसकेको अवस्थामा उत्प्रेरणाले भने लगानी गरेको सबै कर्जा भाका ननाघेको असल कर्जा रहेको छ । संस्थाको आज भएको ११ औं वार्षिक साधारणसभामा प्रस्तुत भएको कोषाध्यक्षको प्रतिवेदनमा संस्थाले एक बर्षमा लगानी गरेको सबै रकम भाका ननाघेको ऋण भएको उल्लेख छ ।
संस्थाले आर्थिक बर्ष २०७९/८० मा गरेको ६ करोड ७४ लाख २५ हजार ३ सय ४६ रुपैयाँ लागानी सबै असल कर्जा भएको संस्थाका कोषाध्यक्ष रामचन्द्र कोइरालाले जानकारी दिए । संस्थाले गत आ.वमा ५ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको कोषाध्यक्ष कोइरालाले बताए । संस्थाले ऋण लगानीको ब्याजबाट १ करोड २ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको र बचतको व्याजमा ९७ लाख ८४ हजार खर्च गरेको छ । गत आ.वमा मात्रै संस्थाले ११ लाख १८ हजार ४ सय ६४ रुपैयाँ नाफा गरेको संस्थाका कार्यकारी प्रमुख उत्तम अधिकारीले जानकारी दिए ।
साधारणसभाको प्रमुख अतिथि खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती लगायत अन्य अतिथिहरुले संस्थाको कारोबार पारदर्शी रहेको र निक्षेपकर्ताको लगानी सुरक्षित देखिएको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय स्तरका सहकारी सुरक्षित देखिएतापनि अन्य जिल्लामा स्थापना भएर शाखा कार्यालय मार्फत सेवा दिदै आएका केहि सहकारीहरुमा समस्या देखिएको बताए । वक्ताहरुले सहकारीको संचालक समिति र व्यवस्थापन पक्षहरु बुझेर कारोबार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशिष्ट अतिथि खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेलले संस्थाले राम्रो कारोबार गरेको देखिएकोमा खुसी व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पुर्व सहकारी निरिक्षक मिस्टर बाबु घिमिरे, खैरहनी च्याम्वर अफ कमर्शका अध्यक्षका प्रकाश श्रेष्ठ , संस्थाका संचालक समिति सदस्य मुरलीप्रसाद गजुरेल लगायतले बोलेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी , सचिव नारायण महतो , कोषाध्यक्ष रामचन्द्र कोइरालाले प्रतिवेदनहरु पेश गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्षको प्रतिवेदन , कोषाध्यक्षको प्रतिवेदन र सचिवको प्रतिवेदन पारित गरेको संस्थाकी व्यवस्थापक सुजता खनालले जानकारी दिइन् ।