खिचरा महोत्सवको तयारी पुरा,भोली मन्त्री लामाले उद्घाटन गर्ने
चितवन , २७ पौष । पूर्वी चितवनको खैरहनीमा शनिबार देखि सुरु हुने नवौं खिचरा महोत्सवको तयारी पुरा भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ५ गौचरनमा पुस २८ देखि माघ १० गते सम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवको मूल संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयोजना गरेको नवौं खिचरा महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने छन् ।
माघी पर्वको अवसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुसा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । महोत्सवमा करिब १ सय ५० वटा स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सव उद्घाटन पर्सा बजारबाट महोत्सव स्थलसम्म विभिन्न छाँकी सहितको शोभा यात्रा गरिने मूल संयोजक चौधरीले बताए ।
महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना समेत गरिने छ । महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु.५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु.३०।– कायम गरिएको छ । जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ।
]साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स आइडल रहनेछ । समापन कार्यक्रममा आदिबासी जनजातिका सवालहरुमा क्रियाशिल रहेका चितवनका पत्रकारहरुमध्य एकजनालाई नगदसहित सम्मान गरिनेछ । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ ।