खैरहनीमा खिचरा महोत्सव सुरु,संस्कृति जोगाउनुपर्छः मन्त्री लामा
चितवन , २९ पौष ।पूर्वीचितवनको खैरहनीमा खिचरा महोत्सव सुरु भएको छ । थारु समुदायको महान चाड माघीको अवसर पारेर थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले आयोजना भएको नवौं खिचरा महोत्सवको शनिबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका हुन् ।
महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले आफ्नो धर्म, संस्कृति र भाषालाई संरक्षण गर्नुपर्ने बताए । उनले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने र औलो लाग्दा समेत धर्तीको रक्षा गरेर बस्ने थारु समुदायको प्रशंसा गरे । उनले आफ्नो धर्म,संस्कृति, मौलिक परिकारको मार्फत पर्यटक भित्र्याउन सकिनेमा जोड दिए । उनले सौराहामा आउने पर्यटकहरु थारु समुदायको संस्कृति , मौलिक परिकार हेर्न समेत आउने गरेको बताए । मन्त्री लामाले खैरहनीमा निर्माण भएको थारु संग्रालयको लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
थारु कल्याणकारिणी सभा थाकस क्षेत्र नम्बर ७ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा प्रतिपक्ष दलका नेता जगन्नाथ थपलिया , जिल्ला समन्वय समितिका सभापति नारायण प्रसाद अधिकारी , खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेती , वडा नं. ७ का वडाध्यक्ष मनेजर महतो, वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ , थाकस चितवनका सभापति ललित कुमार चौधरी, थाकस केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरी, केन्द्रीय सदस्य राजेन्द्र चौधरी, केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरी, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, नेपाली काँग्रेस खैरहनीका सभापति गुणराज श्रेष्ठ, नेकपा एमाले खैरहनीका अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, नेकपा माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेल, राप्रपा खैरहनीका अध्यक्ष देवराज कंडेल, राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनीका सचिव उत्तम अधिकारी, नेकपा समाजवादी खैरहनीका अध्यक्ष दुर्गा अर्याल, सप्तगण्डकी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख मणिराज महतो, चेम्बर अफ कमर्श खैरहनीका सचिव केशव लम्साल, अतिथी सत्कार समितिका संयोजक कृष्णलाल चौधरीले लगायतले मन्तव्य राखेका थिए ।
महोत्सव उद्घाटन पुर्व पर्सा बजारबाट महोत्सव परिसरसम्म विभिन्न जातजातिको झाकीसहितको शोभा यात्रा निकालिएको थियो । माघ १० गतेसम्म संचालन हुने महोत्सवमा करिब १ सय ५० वटा स्टल रहेको महोत्सवको मुल संयोजक रामेश्वर चौधरीले जानकारी दिए ।