चितवनमा स्कुल बसका चालकलाई पेस्तोल देखाउदै हातपात,विद्यार्थीहरु त्रसित
चितवन , ९ फाल्गुन । चितवनको भरतपुरमा स्कुल बसको चालकलाई पेस्तोल देखाउदै हातपात भएको छ । भरतपुरको सनराइज इङ्लिस स्कुलको बसका चालकमाथि आज करिव ४ः१५ बजेतिर हातपात भएको हो ।
विद्यार्थीहरुलाई घर छोड्न जानेबेला भरतपुर ८ सल्लेनीमा पेस्तोल सहित आएका एक व्यक्तिले बसका चालकलाई हातपात गरेको विद्यालय प्रशासनले जनाएको छ । पेस्तोलसहित हातपात गर्दा बसमा भएका विद्यार्थीहरु त्रसित भएका छन् । कालो रङ्गको गाडीमा आएका व्यक्तिले हातपात गरेको विद्यालय स्रोतले जनाएको छ । गाडी व्याक गरेर फर्काउने क्रममा चालकमाथी पेस्तोल ताक्दै हातपात गरेको हो । गाडीमा हातपात गर्नेसँगै अर्का एक पुरुष र एक महिलालाई देखेको चालकलाई उदृत गर्दै विद्यालय प्रशासनले समावेशी खबरलाई जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र सिसिटिभी फुटेजको सहयोग लिन लागिएको बताए । एक अभिभावकले सामाजिक संजालमा यो विषय हालेपछि घटना बाहिर आएको हो । घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् ।