स्थानिय तह वित्तिय सुशासनमा खैरहनीले ल्यायो देशभरमै उच्चतम अंक
चितवन , १४ फागुन । स्थानिय तह वित्तिय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । देशभरका पालिकाहरुमध्य खैरहनीले उच्चतम प्रदर्शन गरेको हो । संघिय मामिला तथा प्रशासन मन्त्रालयले गरेको मूल्यांकनमा खैरहनी नगरपालिकाले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानिय तह भएको छ ।
मूल्यांकनका विभिन्न विषयक्षेत्रका सूचकहरु पुरा गर्दै खैरहनीले उच्चतम अंक प्राप्त गरेको हो । योजना , बजेट तथा कार्यक्रम व्यवस्थापन , कार्यान्वयन क्षमता तथा व्यवस्थापन , लेखांकन तथा प्रतिवेदन , अनुगमन , मुल्यांकन तथा लेखापरिक्षण , राजश्व व्यवस्थापन जस्ता मूल्यांकनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अंक ल्याउन सफल भएको हो । १०० पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अंक ल्याएको छ ।
चितवनको ईच्छाकामना गाँउपालिकाले ८६.५ अंक , कालिका नगरपालिकाले ८५.५ अंक , रत्ननगरले ८३ अंक , माडीले ७७.५ अंक र भरतपुर महानगरपालिकाले ७६.५ अंक प्राप्त गरेको छ । चितवनको अन्य पालिका मूल्यांकनमा परेपनि राप्ती नगरपालिका भने मूल्यांकनमा पर्न सकेन । अघिल्लो बर्षसमेत खैरहनी नगरपालिका चितवनका अन्य पालिकाभन्दा उत्कृष्ट अंक ल्याउन सफल रहेको थियो । स्थानिय तहको वित्तिय प्रणाली व्यवस्थित , पारदर्शी , विधिसम्मत र प्रभावकारी बनाउन स्थानिय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि त्यसको लेखाजोखाको माध्यमबाट स्थानिय तहको वित्तिय सुशासनलाई संस्थागत गर्न स्थानिय तह वित्तिय सुशासन जोखिम मूल्यांकन गरिदै आएको छ ।