खैरहनीमा बेरोजगार व्यक्तिहरुको सूची दर्ता सुरु,न्यूनतम रोजगारी दिने लक्ष्य
चितवन , १५ फागुन । खैरहनी नगरपालिकाले नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुको सूचि दर्ता गर्न सुरु गरेको छ । आर्थिक बर्ष २०८१/८२ मा न्यूनतम रोजगारीको प्रत्याभुति गराउन बेरोजगार व्यक्तिहरुको सूचि दर्ता आजबाट सुरु गरिएको हो । खैरहनी नगरपालिका वडा नम्बर १० कुशहनाबाट सूचीदर्ताको काम सुरु गरिएको खैरहनी नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए ।
वेरोजगारहरुको सूचीदर्तासँगै आज अभिमूखिकरण कार्यक्रम समेत भएको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले न्यून आए नभएका वा पूर्ण रुपमा बेरोजगारहरुको लागि नगरपालिकाले प्राथमिकता दिदै रोजगारीको लागि पहल गर्ने बताए । उनले बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । सूचिकरण भएपछि व्यक्तिको सिप र योग्यता अनुरुपको काम खोज्न सहज हुने नगर प्रमुख खनियाँले बताए । कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख कविता उप्रेती , खैरहनी १० का वडा अध्यक्ष चन्द्रविक्रम चौधरी , वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।