खैरहनी नगरपालिकाद्वारा श्रमिक महिलाहरुलाई सम्मान
चितवन , २४ फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले ६१ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको हो।
नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्णकुमारी गुरुङका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सहभागी भएका नगर भित्रका महिलाहरुलाई सम्मान गरिएको हो । नगर प्रमुख शशिकुमार खनियां, उपप्रमुख कविता उप्रेती ,प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सापकोटा ,नगर शिक्षा अधिकारी राजु बानियांले ती महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख खनियांले महिलाका सवालमा शिक्षा ,समानता ,हिंसा, आयआर्जनलगायतका बिषय चुनौतीपुर्ण रहेको बताए । आफ्नो नगरपालिका भित्र पनि यस्तै समस्या रहेको उल्लेख गर्दै उनले लैंगिक हिंसालाई शुन्य सहनशीलता बनाउने, आयाअर्जनका लागि सीप मुलक तालीम ,बिउ पुँजिमा सहयोग गर्दै आएको बताए ।
उपप्रमुख कविता उप्रेतीले समाजमा अझै पनि सामाजिक ,आर्थिक ,जातीय विभेद कायमै रहेकाले यस्को अन्त्य गर्नुपर्नेमा जोड दिईन् ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सापकोटाले महिलाको सम्मान , हक अधिकार, समानता कायम गरि महिला सशक्तिकरणमा आधारित नगर बनाउन प्रतिवद्ध रहेको बताए । खैरहनी ३ कि वडा सदस्य प्रज्वलाकुमारी घिमिरे, स्मारिका महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला रोक्काले श्रमको सम्मान गर्नुपर्ने बताए।