खैरहनीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु
चितवन , ५ चैत । खैरहनी नगरपालिकाको न्यायिक समितिले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । तालिमको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका छन् । विभिन्न वडामा मेलमिलाप कर्ताहरु अभाव भएकोले समितिले मेलमिलाप सम्बन्धी तालिम संचालन गरेको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुुख शशि कुमार खनियाले समाजमा साना साना विषयलाई लिएर मनमुटाव , झैगडा हुने गरेकोले मेलमिलापकर्ताहरुले दुवै पक्षलाई समाजमै मिलाएर समस्या गर्नुपर्ने बताए । पद र जिम्मेवारी लिन उत्साहित हुने तर जिम्मेवारी पाएपछि आफ्नो भूमिका विर्सन नहुने भन्दै नगर प्रमुख खनियाले तालिममा सिकेको विषयलाई सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक उप प्रमुख कविता उप्रेतीले स्थानिय स्तरमै दुवैपक्षलाई जितको महसुस हुनेगरि न्याय सम्पादन गर्न न्यायिक समिति र मेलमिलापकर्ता खटिने गरेको बताइन् । उनले तालिममा सैद्धान्तिक विषयवस्तु तालिममा सिकेपनि वास्तविक सिकाई कार्यक्षेत्रमा विवाद समाधानको अनुभूति हुने बताइन् । उनले मेलमिलापकर्ताहरुले कानुनको पालना गर्दै दुवैपक्षलाई न्यायको अनुभूति हुनेगरि काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा खैरहनीका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , न्यायिक समितिका सदस्य खैरहनी १२ का वडा अध्यक्ष केदारनाथ पन्त लगायतले स्थानियस्तरमा पर्ने समस्यालाई गाँउ समाजमै दुवै पक्षलाई मिलाएर विवाद समाधान गर्न मेलमिलापकर्ताको महत्वपूर्ण भुमिका रहने बताए । विवाद समाधान गर्न दुवै पक्षलाई मिलाउन बोली , व्यवहार , सिप र ज्ञान मेलमिलापकर्तामा हुनुपर्ने बताए । ८ दिनसम्म संचालन हुने तालिममा विभिन्न वडाका २४ जनाको सहभागीता रहेको खैरहनी न्यायिक सहजकर्ता संजय चौधरीले जानकारी दिए । तालिममा सुशासन तथा विकास प्रतिष्ठान काठमाडौंबाट प्रशिक्षकहरु कविता अधिकारी , वन्धुराम पौडेल , महेन्द्र लम्साल र डा. मुक्ति रिजालले प्रशिक्षण दिने छन् । तालिममा विवाद समाधानका उपायहरु , मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था , वार्ता र मेलमिलापको नियमहरु , मेलमिलाप प्रकृयाको चरणहरु , सहमती पत्र तयारी र मेलमिलाप पश्चात्को जिम्मेवारी , मेलमिलापकर्ताको आचारसंहिता लगायतको विषयमा प्रशिक्षण दिइने न्यायिक सहजकर्ता चौधरीले बताए ।