खैरहनीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम समापन
चितवन, १२ चैत । खैरहनी नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धी आधारभूत तालिमको आज समापन गरिएको छ । खैरहनी नगरपालिकाको न्यायिक समितिको आयोजना र सुशासन तथा विकास प्रतिष्ठानको सहजिकरणमा ८ दिनसम्म संचालन भएको तालिम आज सकिएको हो । विभिन्न वडाबाट तालिममा सहभागी २४ जना प्रशिक्षार्थीहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ ।
तालिममा विवाद समाधानका उपायहरु , मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था , वार्ता र मेलमिलापको नियमहरु , मेलमिलाप प्रकृयाको चरणहरु , सहमती पत्र तयारी र मेलमिलाप पश्चात्को जिम्मेवारी , मेलमिलापकर्ताको आचारसंहिता लगायतको विषयमा प्रशिक्षण दिइएको खैरहनी नगरपालिकाका न्यायिक सहजकर्ता संजय चौधरीले जानकारी दिए । तालिम अवधिमा कविता अधिकारी , वन्धुराम पौडेल , महेन्द्र लम्सालले प्रशिक्षण दिएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै खैरहनीका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले मेलमिलापकर्ताहरु समाजमा दिगो शान्तिका रुपान्तरकहरुको रुपमा रहने बताए । उनले न्यायलाई व्यक्तिले गर्ने अनुभुतिसँग जोडिएकोले दुवै पक्षलाई न्यायको अनुभूति हुनेगरि काम गर्नुपर्नेमा उनले जोड दिए । तालिमको माध्यमबाट सैद्धान्तिक सिकाई भएको र अब व्यवहारिक अभ्यासले थप निखारता आउदै जाने बताए ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समिति संयोजक कविता उप्रेतीले तालिमको माध्यमबाट अब नयाँ मेलमिलापकर्ताहरु दक्ष भएको भन्दै जिम्मेवारी बोकेर समाजमा जाने बताइन् । उनले समाजमा दिगो शान्ति , विवाद रहित समाज बनाउन मेलमिलापकर्ताहरुको महत्वपूर्ण भूमिका रहने औल्याइन् । उनले हालैमात्रै तालिम लिएकाहरुलाई सामाजिक भावनाको साथ कसैलाई अन्याय नहुने गरि विवाद समाधान गर्न आग्रह गरिन् । कार्यक्रममा न्यायिक समिति सदस्य गोमादेवी भुुजेल , प्रशिक्षक बन्धुराम पौडेल, प्रशिक्षर्थीहरुले बोलेका मन्तव्य राखेका थिए ।
कार्यक्रमको भिडियो