अनुमति नलिई खैरहनीमा संचालित ३ वटा औषधी पसलमा नगरपालिकाको टोलीले लगायो सिल
चितवन ,२७ चैत । खैरहनी नगरपालिका भित्र संचालनमा रहेका तिनवटा औषधी पसल आज बन्द गरिएको छ । अनुमति नलिई संचालनमा रहेको औषधी पसलहरु आज बन्द गरि सिल लगाइएको हो । खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती सहित स्वास्थ्य शाखाको टोलीले उक्त पसलहरुमा सिल लगाएको हो ।
मानव स्वास्थ्यसँग जोडिएको विषय भएकोले पसल बन्द गरिएको खैरहनीकी उपप्रमुख कविता उप्रेतीले बताइन् । टोलीले खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित खैरहनी हेल्थ क्लिनिक , खैरहनी ५ स्थित सन्तोषी माता स्वास्थ्य क्लिनिक र खैरहनी १० स्थित अरुण स्वास्थ्य क्लिनिक बन्द गराएको हो । औषधी व्यवस्था विभागमा दर्ता भएर त्यस अनुसार मापदण्ड पुरा गरेर मात्रै औषधी बिक्रीवितरण गर्नुपर्ने व्यवस्था रहेको छ । औषधी व्यवस्था विभागमा दर्ता तथा औषधी पसल संचालनको अनुमती नपाएका पसलहरु आज बन्द गरिएको खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए । औषधी पसल संचालकहरुलाई यसअघि नै सचेत गराउदा समेत अटेर गरेपछि बाध्य भएर पसल बन्द गराउनु परेको अधिकारीले बताए ।